ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए
धनुषामा पतिपत्नी नै मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले दिएको जानकारीअनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर- ३ मथिलेश्वरमा ३० वर्षीया रिनादेवी यादवको शव फेला परेको हो। रिनाको शव माइतीघरमा भेटिएको खनालले बताए।
‘घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा रिनाको शव भेटिएको हो,’ खनालले नेपालखबरसँग भने, ‘रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला भेटिएका छन्। हामी अहिले घटनास्थलमै छौँ।’
धनुषाकै गणेशमान चारनाथ नगरपालिका- ४ भरतपुर घर भएका उमेशले ससुराली घरमै गएर गएराति पौने २ बजेतिर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ। उनी राति नौ बजेतिरै ससुराली गएको खुलेको छ।
घटनामा उमेश र रिनाका ४ वर्षीय छोरा सम्राट पनि घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको खनालले बताए।
उमेश केही महिनाअघि वैदेशिक रोजगारबाट घर फर्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आइतबार बिहान घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्मा अधिकारीको कमाण्डमा प्रहरी टोली पुगेको थियो।
मृतक रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। उमेशको शव भने अहिले पनि घटनास्थलमै छ।
घटनास्थलबाट रगत लागेको चक्कु बरामद भएको प्रहरीले जनाएको छ।
‘पत्नीको हत्यापछि फरार रहेका उमेशलाई खोजतलास गर्दा घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर पश्चिमतर्फ पर्ने मिथिला बिहारी नगरपालिका २ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डीएको अवस्थामा उनको शव फेला परेको हो,’ खनालले भने, ‘घटनाको कारण खुलेको छैन। हामी थप अनुसन्धानकै क्रममा छौँ।’






प्रतिक्रिया दिनुहोस्