६१ किलो सुन तस्करी प्रकरण : न्यायाधीश लम्सालको इजलासमा रोकाको बयान

८ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाविरुद्धको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा परेको छ ।

सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएकी रोकाको बयान सकेर आजै थुनछेक बहस गर्ने तयारी गरिएको छ । थुनछेक बहस आजै सकिएको अवस्थामा रोकालाई धरौटी तथा तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउनेमध्ये एक आदेश आउने छ ।

frontline

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेलिजयम नागरिक दाबा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।

रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

अमला रोका |६१ किलो सुन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here