हुम्लाबाट स्थलमार्ग हुँदै एकै दिनमा काठमाडौँ पुग्ने सपनाको परीक्षण
हिमाललाई दुर्गमताको प्रतीकभन्दा पनि सम्भावना, उत्पादन, पर्यटन र राष्ट्रिय समृद्धिको आधारका रूपमा हेर्ने नयाँ विकास दृष्टिकोण आवश्यक भएको छ।
हिमाल¸ पहाड र तराई-मधेशको शिर मात्र होइन, जीवन दिने आधार पनि हो। यसको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै हिमाली नागरिकको जीवनस्तर सुधार्नु र हिमाली क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु आजको आवश्यकता हो।
१. डाँडामा भएको कल्पना
सानोमा वस्तुभाउ चराउन जाँदा अग्लो डाँडामा पुगेर टाढा-टाढासम्म हेर्न मन लाग्थ्यो। तल देखिने बस्ती, सुसाउँदै बग्ने खोलानाला, एकपछि अर्को उठेका पहाड र क्षितिजमा हराउने भूगोल हेर्दा अनेक प्रश्न उठ्थे¸ त्यसभन्दा उता कस्तो होला? त्यहाँका मानिस कसरी बस्दा हुन्? ती बस्तीलाई जोड्ने बाटो होला कि नहोला?
समयक्रममा यी जिज्ञासा भूगोल बुझ्ने, समाज चिन्न खोज्ने र विकासको बाटो पहिल्याउने सोचमा रूपान्तरित भए। पूर्व-पश्चिम राजमार्गको यात्रादेखि संकटकालमा पूर्वको इलामदेखि पश्चिमको हुम्लासम्म गरिएको पैदल यात्राले नेपालको भौगोलिक विविधता र नागरिकले भोग्नुपरेका कठिनाइलाई नजिकबाट बुझ्ने अवसर दियो। त्यस यात्राले एउटा सत्य सिकायो- भूगोलले जीवनलाई प्रभावित गर्छ, तर सही योजना, उपयुक्त प्रविधि र दृढ इच्छाशक्ति भए चुनौतीलाई सम्भावनामा बदल्न सकिन्छ।
यही सोचले पूर्व-पश्चिम जोड्ने मध्यपहाडी सडकको परिकल्पना र बहससँग जोडिने अवसर पनि दियो। सडक गाडी गुड्ने संरचना मात्र होइन; यो उत्पादनको बजार, बिरामीको उपचार, विद्यार्थीको भविष्य र नागरिकको अवसरसँग जोडिएको जीवनरेखा हो।
आज हुम्लाबाट काठमाडौँ एकै दिनमा स्थलमार्गबाट पुग्न सकिने अवस्था निर्माण गर्ने दीर्घकालीन सपना छ। यसको सम्भाव्यता प्राविधिक अध्ययन, वास्तविक दूरी, भूगर्भ, उचाइ र मौसमी अवस्थाका आधारमा परीक्षण गर्नुपर्छ। तर कुनै लक्ष्य कठिन छ भन्दैमा त्यसबारे सोच्न छाड्नु हुँदैन। यो सपना दुरी घटाउने कल्पना मात्र होइन, हिमाली नागरिकको जीवनमा राज्यको उपस्थिति बढाउने र विकासको अवसरबाट पछाडि पारिएका समुदायलाई राष्ट्रिय समृद्धिको मूलधारमा ल्याउने परिकल्पना हो।






प्रतिक्रिया दिनुहोस्