सेनालाई गोली हान्ने अधिकार दिँदै धनुषाका सीडीओले लेखे पत्र

सुनसरीको कप्तानगन्ज घटनालाई लिएर तनाव उत्पन्न भएपछि धनुषाका सीडीओले नेपाली सेनालाई गोली हान्नेसम्मको अधिकार दिएर परिचालनका लागि पत्र पठाएका छन्।

बिहीबार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाएका छन्। सीडीओ लुइटेलले ‘नेपाली सेना परिचालन सम्बन्धनमा’ भनेर लेखेको पत्रमा सेना परिचालनका लागि अनुरोध गरिएको छ। 

frontline

पत्रमा धनुषाका विभिन्न क्षेत्रमा लगाइको कर्फ्यु आदेश जारी गरिएको उल्लेख गरिएको छ। कर्फ्यु आदेश लागू गराउनका लागि सेना परिचालन गर्न सीडीओ लुइटेलले पत्र पठाएका छन्। 

पत्रमा भनिएको छ, ‘शान्ति व्यवस्थाका लागि नेपाली सेना समेतको आवश्यकता पर्ने देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) २ बमोजिम नेपाली सेना परिचालनको लागि अनुरोध गर्दछु।’

यससँगै पत्रमा सेनालाई आवश्यकता अनुसार सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार दिइएको जनाइएको छ। सीडीओले पठाएको पत्रमा भनिएको छ, ‘कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु।’

धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले नियमित प्रक्रिया अनुसार सेनालाई पत्र पठाएको बताए। ‘स्थानीय प्रशासन ऐनको व्यवस्था अनुसार पत्र पठाउनुपर्छ,’ उनले नेपालखबरसँग भने, ‘कर्फ्यु लागेपछि चारै सुरक्षा निकाय परिचालित हुने भन्ने हुन्छ। त्यही भएर चारै निकाय परिचालन गरिएका छन्।’

अहिले न्युनतम बल प्रयोग गर्न पत्राचार गरिएको बताए। यसभन्दा बढी बल प्रयोग गर्नुपर्दा कमान्ड पोस्टको बैठक बसेर फेरि निर्णय गरिने उनले बताए। 

सुनसरीको कप्तानगन्ज बजारमा साउन ९ गते दुई समूहका व्यक्तिबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपको अवस्था आएको थियो। 

त्यसलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसपछि विवाद बढ्दै जाँदा तराई–मधेशका विभिन्न जिल्लामा झडपको स्थिति आएको छ। 

सुनसरीपछि सिरहा र धनुषाका विभिन्न स्थानमा बिहीबार झडप भएको छ। झडपका क्रममा प्रहरीले गोली चलाएको छ। बिहीबार दिउँसो गोली लागेर सिरहाको गोलबजारमा एक युवकको मृत्यु भएको छ। 

सुनसरीपछि उत्पन्न विवादका क्रममा गोली चल्दा बिहीबार साँझसम्म तीन जनाको ज्यान गएको छ। स्थिति नियन्त्रणमा लिन विभिन्न स्थानमा कर्फ्यु र निषेधाज्ञा जारी गरिएको छ। कतिपय स्थानमा सेना परिचालन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here