संसदीय सुनुवाइ समितिबाट राजदूतमा अनुमोदन भएका १० जना एग्रिमो कुर्दै
काठमाडौँ । सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका राजदूतहरूको नामसहितको पत्र सम्बन्धित मुलुकमा सहमतिका लागि (एग्रोमो) पठाइसकेको छ ।
उनीहरूको नाममा एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्त गर्ने र त्यस लगत्तै उनीहरू सम्बन्धित मुलुकमा जानेछन् । सरकारले विज्ञापनको माध्यमबाट छनोट गरी १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो ।
भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, इजरायलका लागि सुरेश कर्ण, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, श्रीलंकाका लागि डा. मञ्चला झा, जर्मनका लागि सरु जोशी र ओमानका लागि डा. पद्याक्षी राणाको नाम अनुमोदन भएको थियो ।
दसैँअघि एग्रिमोका लागि उनीहरूको नाम सम्बन्धित देशमा पठाइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार संसदीय समितिबाट नाम अनुमोदन भएका राजदूतहरूको एग्रिमोका लागि सम्बन्धित देशहरूलाई पत्र पठाइसकिएको छ । हालसम्म कुनै पनि मुलुकले एग्रिमो स्विकृत गरेर पठाइसकेका छैनन् ।
सरकारबाट यसअघि सिफारिस भएका १३ जना राजदूतमध्ये महिला हिंसालगायतको गम्भीर उजुरी परेपछि साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको छ । त्यस्तै, मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम पनि अस्वीकृत भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सम्बन्धमा भने सुनुवाइ समितिले थप केही अध्ययन गर्ने भएको छ । समितिले जिज्ञानको विषयमा थप सुनुवाइ गरेपछि निर्णय हुने बताइएको छ ।
यसैबिच, परराष्ट्र मन्त्रालयले बाँकी रहेको ९ देशका लागि राजदूतहरू सिफारिस गर्ने गृहकार्य सुरु गरेको छ । सरकारले यसअघि विज्ञतर्फबाट विभिन्न १३ वटा देशका लागि १३ जनाको नाम सिफारिस गरिसकेपछि बाँकी रहेका ९ देशका राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको परराष्ट्र स्रोतले जनाएको छ ।
रसिया, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन, इजिप्टमा नेपाली राजदूत खाली छन् । यी ९ वटै दूतावासमा कर्मचारी वर्गबाट राजदूत पठाइएको थियो । त्यसमध्ये रसिया, अष्ट्रेलिया, ओमान, स्पेनमा राजदूत पद रिक्त भइसकेको छ । बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन, इजिप्टमा रहेका नेपाली राजदूतको म्याद सकिए पनि वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले उनीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि म्याद थप गरेर राखेको छ ।
म्याद थपिएका राजदूतहरूमा बंगलादेशका लागि घनश्याम भण्डारी, ब्राजिलका लागि निर्मलराज काफ्ले, म्यानमारका लागि हरिश्चन्द्र घिमिरे, बहाराइनका लागि तीर्थराज वाग्ले र इजिप्टका लागि सुशील लम्साल छन् ।






प्रतिक्रिया दिनुहोस्