इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति

काठमाडौँ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सापकोटासँग सम्पर्क देखिएपछि भट्टलाई असोज ३१ मा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो । सापकोटा भने असोज १४ मा नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

frontline

काठमाडौँ प्रहरीले यी दुवैमाथि राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको छ । एसपी नरहरि रेग्मीको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए । रेग्मी उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । विशेष समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्नेछ ।

सुशील भट्ट व्यवसायी दिपक भट्टका दाजु हुन् । व्यवसायी भट्ट अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागी सिन्धुपाल्चोक कारागारमा छन् । चोलेन्द्रले सापकोटालाई परिचालन गरेर व्यवसायी भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशंका गरिएको छ । चोलेन्द्रलाई पक्राउ गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज ११ को मध्याह्नमा रिहा गरेको थियो । अग्रवाल पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा छन् ।

सापकोटा र भट्टबिच तारन्तार फोन सम्पर्क

प्रहरीले सापकोटाको मोबाइलको फरेन्सिक जाँच गरेको छ । लगानी बोर्डका पूर्वसीइओ भट्ट र सापकोटाबिच तारन्तार मोबाइल नम्बर र ह्वाट्स एपमार्फत सम्पर्क हुने गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए । फरेन्सिक परीक्षणको रिपोर्टमा उक्त विवरण भेटिएको हो । सपाकोटासँग प्रहरीका केही उच्च अधिकृतहरूसँग पनि सम्पर्क हुने गरेको भेटिएको छ । प्रहरीका अधिकृतहरू, व्यवसायी र अदालतका उच्च अधिकृतहरूसँगको सापकोटाको सम्पर्कबारे पनि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न ती अधिकृतले जानकारी दिए ।

चोलेन्द्रसँग कनेक्सन देखिएपछि सापकोटा अनुसन्धानको दायरामा आएका हुन् । झापा घर भएका ३१ वर्षीय उनको परिवार बुढानिलकण्ठमा बस्छ । उनीचाहिँ काठमाडौँको पानीपोखरीस्थित ‘पानीपोखरी हाइट’ अपार्टमेन्टमा बस्दै आएका थिए । प्रहरीले उनको अपार्टमेन्टमा छापा मारेर त्यहाँ भेटिएका कागजात र डिजिटल सामग्री नियन्त्रणमा लिएको छ । सापकोटाले जलवायु परिवर्तनको विषयमा पीएचडी गरेका छन् । उनको सम्पर्क नेपाली कांग्रेसका केही नेताहरूसँग पनि देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

सम्बद्ध कसुर (प्रेडिकेट अफेन्स) भएमा मात्र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले सापकोटा साथबाट बरामद विदेशी मुद्रा कारोबारलाई सम्बद्ध कसुरको रूपमा अघि बढाएको छ । सापकोटाको साथबाट प्रहरीले १४ सय अमेरिकी डलर र थप केही देशको मुद्रा बरामद गरेको थियो ।

यो प्रकरणमा सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्तीमा परिसकेका छन् । चोलेन्द्रलाई प्रहरीको कार्यालयमा भेटेसँगै दाहाल बर्खास्तीमा परेका थिए । सापकोटाको सम्पर्क दाहालसँग पनि देखिएको छ । सशस्त्रका अर्का एआईजी अन्जनीकुमार पोखरेलले गरेको जाँचबुझ प्रतिवेदनअनुसार दाहाल र सापकोटबिच सम्पर्क देखिएको हो । जाँचबुझ समितिसँगको बयानमा पनि दाहालले सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेका छन् ।

यही प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चोलेन्द्रका भाइ प्रभु शमशेर जबरा, नवराज थपलिया, दिपक तिमल्सिना, नारायण दाहाल र नवीन बस्नेतको घरमा छापा मारेको थियो । उनीहरू चोलेन्द्रका निकटस्थ मानिन्छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here