सँगै बसेर मदिरा पिए, मात चढेपछि बियरको बोतलले टाउकोमा हानेर हत्या
विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसइबीका कारण गुप्ताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट गुप्ताले मियामाथि आफ्नो पसलबाट सामान चोरी गरेको आरोप लगाउँदै आएका थिए।
यही विषयलाई लिएर दुवैबीच मनमुटाव र रिसइबी बढेको थियो। जसको बदला लिन मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
योजनाअनुसार गत शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। सोही क्रममा उनीहरूले सँगै बसेर मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार, मदिराको नशासँगै मियाले सुरुमा बियरको बोतल र पछि फलामको रडले गुप्ताको टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको छ।
हत्यापछि शव लुकाउन मियाले सिटी सफारी प्रयोग गरेको खुलेको छ। उनले गुप्ताको शव बोरामा हालेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा लगेर फालेका थिए। आइतबार बिहान स्थानीय बासिन्दाले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।






प्रतिक्रिया दिनुहोस्