महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद चीन जाँदै
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय सांसदको टोली चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सांसदहरूको टोली कात्तिक २९ गते चीनतर्फ प्रस्थान गर्नेछ। १० दिनसम्म चीनका विभिन्न सहरको स्थलगत अवलोकन गर्ने र केही कार्यक्रममा सहभागी हुने सो पार्टीका नेताहरुले जानकारी दिए।
अहिलेसम्म चीन जाने टोलीमा महामन्त्री आचार्यसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बास्तोला, हरि ढकाल, सागर ढकालको नाम निश्चित भइसकेको छ। आचार्यले भ्रमणमा जान चाहने सांसदहरूको सूची बनाइरहेका छन्।
उनले रास्वपा सांसद रहेको ह्वाट्सएप ग्रुपमा पनि सन्देश छोडेका छन्।
‘चीन भ्रमणमा जान चाहने इच्छुक साथीहरूले नाम टिपाउनुहोला,’ एक सांसदले उक्त सन्देश उधृत गरे।
यो टोलीमा सत्तारुढ दल रास्वपाका सांसद मात्र रहने छन्।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा १८ देखि २० जनाको टोली १० दिने भ्रमणका लागि जान लागेको हो,’ एक सांसदले नेपालखबरसँग भने, ‘केही नामको टुंगो लागे पनि सबैको निश्चित भइसकेको छैन। महामन्त्रीज्यूले प्रत्येक सांसदलाई सोध्नुभएको छ।’
अर्का सांसदका अनुसार भ्रमणमा जाने सांसदहरू धेरै भइसकेको छ।
‘आकांक्षी साथीहरू ३० जनाभन्दा बढी भइसकेका छन्,’ ती सांसदले भने, ‘भ्रमण टोलीमा क–कसलाई सामेल गराउने भन्ने विषयमा महामन्त्रीले निर्णय गर्नुहुन्छ। भ्रमणको तीन दिनअघि मात्र सबै नाम फाइनल होला।’
यसअघि २०८१ असोज ५ गते तत्कालीन उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा ७ जना सांसद र ७ जना गैरसांसद गरी रास्वपाको १४ सदस्यीय टोली चीन भ्रमणमा गएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीकै निमन्त्रणमा गएको सो टोली भ्रमण बीचमै छोट्याएर असोज १० गते फर्किएको थियो। त्यसबेला पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्न लागेको भन्दै टोलीलाई फिर्ता बोलाइएको थियो।
रास्वपाका प्रवक्ता समेत रहेका सांसद जगदीश खरेलले चीन भ्रमणको निम्तो आए पनि अहिलेसम्म जाने टोलीको टुंगो लागिनसकेको दाबी गरे।
‘पार्टीलाई निम्ता आएको हो। त्यही भएर महामन्त्रीले नेतृत्व गर्न लाग्नुभएको हो,’ रास्वपाका एक पदाधिकारीले भने, ‘कार्यक्रमबारे केही सेड्युल बनाइएको छैन।’
भ्रमणमा रहँदा महामन्त्रीले गर्ने राजनीतिक भेटवार्ताबारे केही खुलाइएको छैन। भदौ पहिलो साता रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी थियो। यद्यपि, त्यो रोकिएको थियो।






प्रतिक्रिया दिनुहोस्