पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन
समाचार सारांश
- पर्साको तिलाबे खोलामा बेलिब्रिज जडान गर्ने योजना सडक विभागले पूरा गर्न सकेन, बोलपत्र रद्द गरियो।
- २०८१ सालको वर्षामा बाढीले तिलाबे पुलमा क्षति पुर्याएपछि सवारी आवागमन रोकिएको छ।
- सडक विभागले बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ।
पर्सा । सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ ।
विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ ।
बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ । हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यहाँको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेपछि सडक ‘एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको जानकारी दिए ।
“यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि रु तीन करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो”, उनले भने, “एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । तर, वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो ।”
कार्यालय प्रमुख पटेलले आव सुरु हुने बित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको बताए।






प्रतिक्रिया दिनुहोस्