इरानी सञ्चारमाध्यमले सार्वजनिक गरे सम्भावित अमेरिका–इरान सम्झौताका मुख्य बुँदा
अमेरिका र इरानबिच तयार भइरहेको भनिएको समझदारीपत्र (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) अन्तिम चरणमा पुगेको दाबी इरानी सरकारी समाचार संस्था आईआरएनएले गरेको छ ।
इरानको १४ बुँदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाबारे आईआरएनए, मेहर समाचार एजेन्सी तथा अन्य इरानी सञ्चारमाध्यमहरूले केही प्रमुख विवरण सार्वजनिक गरेका छन् ।
युद्ध अन्त्य गर्ने व्यवस्था
मस्यौदाअनुसार इरानसँगको युद्ध मात्र होइन, लेबनान लगायतका मोर्चाहरूमा पनि युद्ध अन्त्य गर्ने व्यवस्था समावेश छ । सम्झौता भएमा अमेरिकाले इजरायललाई बेरुत क्षेत्रमा सैन्य कारबाही रोक्न दबाब दिने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ ।
आणविक कार्यक्रम
आणविक कार्यक्रमका विषयमा इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने बताइएको छ । सम्झौतापछि सुरु हुने ६० दिने वार्ता अवधिमा मात्र इरानले आफ्नो “मूलभूत सिद्धान्त” को सीमाभित्र रहेर आणविक वार्तामा सहभागी हुने जनाइएको छ । यसमा युरेनियम संवर्धन (यूरेनियम एनरिचमेन्ट) गर्ने इरानको अधिकारलाई कायम राख्ने विषय पनि समावेश रहेको दाबी गरिएको छ ।
स्ट्रेट अफ होर्मुज
इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अधिकार त्याग्ने वा युद्धअघिको अवस्थालाई पूर्ण रूपमा पुनर्स्थापित गर्ने कुनै प्रतिबद्धता गरेको छैन । मस्यौदामा समुद्री यातायातलाई सामान्य बनाउने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने विषय मात्र समेटिएको बताइएको छ । स्ट्रेटको व्यवस्थापन तटीय राष्ट्रहरूबिचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ ।
रोक्का गरिएको सम्पत्ति फुकुवा
सम्झौताअनुसार विदेशमा रोक्का गरिएका इरानका २४ अर्ब अमेरिकी डलर बराबरका सम्पत्ति फुकुवा गरिनुपर्ने माग समावेश छ । त्यसमध्ये आधा रकम सम्झौतामा हस्ताक्षर भएलगत्तै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आईआरएनएको दाबी छ ।
प्रतिबन्ध हटाउने विषय
इरानमाथि लगाइएका सबै आर्थिक तथा अन्य प्रतिबन्ध हटाउने विषय ६० दिनभित्र सम्बोधन गरिने उल्लेख गरिएको छ । त्यो अवधिमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप सैन्य बल नपठाउने र इरानमाथि नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि जनाउने बताइएको छ ।
युद्धको क्षतिपूर्ति
मेहर समाचार एजेन्सीका अनुसार मस्यौदामा इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना समावेश गरिएको छ । यसको कार्यान्वयन प्रक्रिया भने हस्ताक्षरपछि हुने ६० दिने वार्तामा तय गरिने बताइएको छ ।
क्षेप्यास्त्र र क्षेत्रीय समूहहरू
इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम तथा इरान समर्थित क्षेत्रीय सशस्त्र समूहहरू (प्रोक्सी फोर्स) सम्बन्धी विषयहरू मस्यौदाबाट पूर्ण रूपमा हटाइएको मेहरको दाबी छ ।
यद्यपि इरानी तस्निम समाचार एजेन्सीले भने सम्झौताको पाठ अझै इरानका सम्बन्धित निकायहरूले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्