अब हाम्रो पालो- ट्रम्प-इरानमाथि शक्तिशाली आक्रमण,
इरानले अमेरिकी सेनामाथि गरेको भनिएको ‘सरप्राइज’ क्षेप्यास्त्र आक्रमणपछि अमेरिका र साउदी अरबले इरानसँग सम्बन्धित सैन्य लक्ष्यहरूमा शक्तिशाली जवाफी कारबाही सुरु गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्डले इरानसँग सम्बन्धित सैन्य संरचना तथा इराकमा रहेका इरान समर्थित मिलिसिया समूहहरूलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ चेतावनी दिएका छन्। उनले अमेरिका अब प्रतिआक्रमणको चरणमा प्रवेश गरेको भन्दै इरानलाई ‘ठूलो प्रहार’ गरिने बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानलाई कडा सैन्य जवाफ दिने संकेत गर्दै अमेरिका पछाडि नहट्ने स्पष्ट पारे।
अमेरिका र साउदी अरबको समन्वयमा इराकमा रहेका इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेसका ठेगानाहरूलाई पनि निशाना बनाइएको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा इरानी रिभोलुसनरी गार्डसँग आबद्ध व्यक्तिहरूसहित दर्जनौं मानिस मारिएको दाबी गरिएको छ।
सैन्य टकराव तीव्र बनेसँगै विश्व ऊर्जा बजारमा पनि असर परेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब सात प्रतिशतले बढेको छ भने स्ट्रेट अफ हर्मुज र बाब अल–मन्डेब जस्ता रणनीतिक सामुद्रिक मार्गहरूमा जहाजहरूको आवागमन प्रभावित भएको जनाइएको छ। इरान समर्थित हुथी विद्रोहीहरूले साउदी जहाजहरूलाई लक्षित गर्ने चेतावनी दिएपछि धेरै तेल ट्याङ्करहरूले वैकल्पिक मार्ग रोज्न थालेका छन्।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि इरानलाई हतियार सहयोग नगर्न चेतावनी दिएका छन्। चीनबाट इरानलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सकिने समाचारप्रति प्रतिक्रिया दिँदै उनले त्यस्तो कदमले क्षेत्रीय तनाव अझ बढाउने बताएका छन्।
यसैबिच, इरानी सरकारी सञ्चारमाध्यमहरूले देशको दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएको जनाएका छन्। यसअघि इरानले जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा क्षेप्यास्त्र प्रहार गरेको र ती आक्रमणहरू अमेरिकी तथा सहयोगी प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको अमेरिकी पक्षको दाबी छ।






प्रतिक्रिया दिनुहोस्