भिवान्त होटलबाट यसरी सुरु भएको थियो मुख्यमन्त्री लामाविरुद्ध २१ जनाको हस्ताक्षर
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन ललितपुरको भिवान्त होटलबाट हस्ताक्षर अभियान सुरु भएको तथ्य खुलेको छ । केही समय अघिदेखि चलेको उक्त हस्ताक्षर अभियानमा झम्सीखेलस्थित भिवान्त होटलको बैठक निर्णायक बनेको थियो ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आन्तरिक रूपमा चलाएको उक्त अभियानमा १६ जना सांसद सहमत थिए । बानियाँलाई बहुमत पु¥याउन थप ३ जना सांसद आवश्यक थियो । यसका लागि सरकारमै सामेल मन्त्रीले राजीनामा दिएर धरातल निर्माण गरिदिए ।
बजेट, सरकारको काम र संसदीय दलको भूमिका कमजोर भएको भन्दै आलोचना भइरहेका बखत मन्त्रीहरू नै मुख्यमन्त्री लामाको साथ छाडेर सभापति बानियाँको पक्षमा पुगेका थिए । त्यसमा पनि शेखर कोइराला टिमका एक सांसदले थप सहयोग पु¥याएका थिए ।
गत २०७९ पुस १३ मा भएको संसदीय दलको निर्वाचनमा आफ्नो पक्षमा रहेका १६ सांसदलाई पकडमा राखेका बानियाँले नेता शेखर कोइराला, प्रकाश शरण महत, मोहनबहादुर बस्नेत र बालकृष्ण खाण पक्षका सांसदलाई आफूतिर तानेपछि संसदीय दलमा बहुमत जुटाएका हुन् ।
बजेट पारित भएसँगै मुख्यमन्त्री लामा बेलायत भ्रमणमा रहेका बखत कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरू संसदीय दलको नेता फेर्ने गृहकार्यमा जुटेका थिए । मुख्यमन्त्री लामा गत असार २५ मा बेलायत गएका बखत बानियाँ पक्षका मन्त्रीले नै उक्त बैठकको व्यवस्थापन गरेका थिए । सरकारको काममा असन्तुष्टि जनाउँदै आएका मन्त्रीहरूलाई कन्भिन्स गरेर बानियाँ पक्षमा हस्ताक्षर गराउन ती मन्त्री सफल भएका थिए ।
बैठकमा सहभागी पूर्वमन्त्री मीनकृष्ण महजर्नका अनुसार अर्थमन्त्री कुन्दनराज काफ्लेलाई बर्खास्त गर्नुपर्ने मागबाट अघि बढ्दै अन्त्यमा मुख्यमन्त्री नै हटाउने तहमा सहमति जुटेको हो । मन्त्री काफ्लेलाई बर्खास्त गर्न मुख्यमन्त्री लामाले बेवास्ता गरेपछि कांग्रेस सांसदहरू संसदीय दलको अंकगणिततिर केन्द्रित भएका हुन् ।
अर्थमन्त्री काफ्लेविरुद्ध मुख्यमन्त्रीले कुनै कदम नचाल्ने देखेपछि त्यस्तो सरकारले नागरिकको हितमा काम गर्न नसक्ने निष्कर्ष निकाल्दै कांग्रेसका अधिकांश सांसदले मुख्यमन्त्री फेर्ने अभियानलाई अघि बढाएको पूर्वमन्त्री महर्जनको भनाइ छ ।
- २०५६ को प्रसंगपछि ४ मन्त्रीले दिए राजीनामा
उक्त बैठकमा मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर गराउन २०५६ सालमा कृष्णप्रसाद भट्टराईविरुद्ध कांग्रेसले चालेको कदमबारे चर्चा भएको थियो । त्यसपछि संसदीय दलको नेता परिवर्तनको पक्षमा उभिन मन्त्रीहरू राजी भएका थिए ।
मुख्यमन्त्री लामालाई फोन मार्फत् जानकारी गराएर गत शुक्रबार दिउँसो ४ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । उनीहरूले मुख्यमन्त्री लामालाई आफ्नो राजीनामा पत्र ह्वाट्स एपबाट पठाएका थिए ।
बैठकमा २०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा आफ्नै दलबाट आएको अविश्वास प्रस्तावबारे चर्चा भएको स्रोत बताउँछ ।
भट्टराई प्रधानमन्त्री भएको ११ महिनापछि कांग्रेसकै सांसदहरूले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेको र नैतिकताको आधारमा भट्टराईले राजीनामा दिएको प्रसङ्ग निकालेपछि युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले पदबाट राजीनामा दिएका थिए ।
प्रदेश सभापति बानियाँलाई संसदीय दलको नेता बनाउन माग गर्दै २१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावबारे आज छलफल हुने कार्यक्रम छ ।
दिउँसो १ बजे अविशवास प्रस्तावबारे निर्णय गर्न बैठक आह्वान गरिएको छ भने उक्त कार्यका लागि केन्द्रबाट कांग्रेस नेता राजन केसी प्रतिनिधि तोकिएका छन् ।






प्रतिक्रिया दिनुहोस्