यस्तो बन्दै छ चक्रपथ दोस्रो खण्ड ‘कलंकी–बसुन्धारा’

कहाँ-कहाँ बन्नेछन् ओभरपास र आकाशेपुल ?

 समाचार सारांश

  • चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी-बसुन्धाराको सर्भे र डिजाइन अन्तिम चरणमा पुगेको छ, डीपीआर ५ महिनाभित्र तयार हुनेछ।
  • चिनियाँ प्राविधिक टोलीले ८.२ किलोमिटर लामो सडक ८ लेनको बनाउने डिजाइन गरेको छ, जसमा आकाशे पुल र ओभरपास हुनेछन्।
  • यो खण्ड विस्तारका लागि चीनसँग २०७५ मा सम्झौता भएको थियो, तर कोभिड-१९ का कारण काम अघि बढ्न सकेको थिएन।

frontline

काठमाडौँ । सम्झौता भएको सात वर्षपछि चीन सरकारको अनुदान सहयोगमा बन्न लागेको चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी–बसुन्धाराको सर्भे र डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । करिब पाँच महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख कुष्णनाथ ओझाले चिनियाँ प्राविधिक टोलीले स्थलगत अनुगमन गरी डिजाइनको काम पनि अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए । ‘डिजाइनको काम करिब सकिसकेको छ,’ ओझाले भने, ‘अब डीपीआर तयार हुन बाँकी छ । के कति लागत र समय लाग्ने डीपीआरपछि मात्रै थाहा हुन्छ ।’

ओझाकाअनुसार चिनियाँ प्राविधिक टोलीले तयार पारेको डिजाइनअनुसार ८.२ किलोमिटर लामो यो सडक ८ लेनको बन्नेछ । माछापोखरीमा ओभरपाससहित ४ वटा आकाशे पुल रहेको छ । 

चिनिया सरकारी कम्पनी सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्टस र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडले वैशाखको पहिलो सातादेखि सर्भे र डिजाइन थालेको थियो । यो सडक अध्ययनका लागि वैशाखको पहिलो साता २१ जनाको प्राविधिक टोली नेपाल आएका थिए । अहिले अध्ययनको काम सकेर १० जनाको प्राविधिक टोली फर्किएका छन् भने ९ जना प्राविधिक माटो परीक्षणका लागि र दुई जना डिजाइनका काठमाडौँमै छन् । 

  • डिजाइनअनुसार के–के संरचना बन्छन् ? 

चक्रपथ विस्तार आयोजना प्रमुख ओझाका अनुसार करिब ८.२ किलोमिटर लम्बाइ रहेको यो सडक चीनको सहरी रोड स्यान्डर्डमा आठ लेनमा विस्तार गर्ने गरी डिजाइन गरिएको छ । विस्तार हुने यो सडक खण्डमा कलङ्कीस्थित स्युचाटार पुल १६ मिटर लम्बाइको र विष्णुमती नदीमाथि ६४ मिटरको पुलको डिजाइन तयार भएको छ । 

यस्तै सडकमा १३ वटा कल्भर्ट र ४ वटा आकाशे पुल बन्नेछन् । सीतापाइला र स्वयम्भूको बिचमा, ढुंगेधारा र बालाजुको बिचमा, यस्तै बालाजु र माछापोखरी बिचमा र सामाखुसी र चौकीको बिचमा पैदल यात्रुका लागि पुल बनाइनेछ  । 

यसैगरी माछापोखरीदेखि बसपार्कसम्म ५६० मिटर लम्बाइको ओभरपास निर्माण गरिने गरी डिजाइन भएको छ । उक्त सडकमा सवारीसाधन तथा यात्रुको गन्तव्य परिवर्तनका लागि ११ वटा इन्टरसेक्सन र २२ वटा बस वायस निर्माण गर्ने गरी डिजाइन तयार भएको छ । 

सडकको कुल चौडाइ ३८.५ मिटमध्ये दुवै छेउमा २.७५ मिटर फुटपाथ, दुईतर्फी चार लेन सडक र सडकको बिचमा बोट बिरुवा रोप्ने तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न तीन मिटर भाग रहने जनाइएको छ । 

  • सम्झौताको सात वर्ष 

यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । यससँगै आयोजनाले २०७५ जेठ १४ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । र सोहीवेला हटाइएको पनि थियो । तर कोभिड १९ का कारण निर्माणको काम अघि बढ्न नसकेको आयोजनाको दाबी थियो । 

यसपछि २०७९ फागुनमा पनि दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । तर रिपोर्ट दिइएन । 

२०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मङ्सिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा गरेको उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको बुँदामा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको थियो । सोहीअनुसार चिनियाँ टोली सर्भेका लागि आएका हुन् ।

यसपछि अध्ययनका लागि चिनियाँ टोली २०८२ वैशाख पहिलो साता आयो । यो सडक खण्डका कारण सात वर्षसम्म यात्रु र स्थानीयले निकै सास्ती खेप्नुपरिरहेको छ । धुलो हिलोका कारण सडक आसपास व्यापार व्यवसाय खस्किनुका साथै मानिसको स्वास्थ्यमा पनि गम्भीर समस्या देखापरिरहेको छ । साथै दुर्घटनाको जोखिम पनि उस्तै । 

यसअघि चीनले चक्रपथको कोटेश्वर–कलङ्की पहिलो खण्ड विस्तार गरेको थियो । उक्त खण्ड विस्तार कार्य २०६९ सालमा सुरु भएको थियो । करिब ६ वर्षको अवधिमा २०७५ सालमा सडक विस्तार सम्पन्न गरेको थियो ।

यस खण्डको दूरी कोटेश्वरदेखि कलङ्कीसम्म १०.३९ किलोमिटर छ । आठ लेनको यो सडक विस्तारको लागत चीन सरकारले बेहोरेको थियो । यसको लागत करिब ५ अर्ब छ ।

साथै तेस्रो खण्ड ‘महाराजगञ्ज–कोटेश्वर’ खण्ड विस्तार भने नेपाल सरकार आफैले गर्नुपर्ने भएको छ । अहिले सडक डिभिजन काठमाडौँले केही भाग विस्तार थालेको छ । 

  • तेस्रो खण्ड: चप्पल कारखानासम्म, विस्तार ३५ प्रतिशत

सरकार आफैले विस्तार गरिरहेको तेस्रो खण्ड (महाराजगञ्ज–कोटेश्वर) को काम भने सुस्त गतिमा अघि बढेको छ । सडक डिभिजन काठमाडौँले चैत यता तेस्रो खण्डको केही भागमा विस्तार कार्य थालेको थियो । 

सडक डिभिजन काठमाडौँले नारायणगोपाल चोक नजिकै रहेको प्रहरी चौकीदेखि चप्पल कारखानासम्म विस्तार कार्य गरिरहेको छ । सूचना अधिकारी अर्जुन नेपालीले प्रहरी चौकीदेखि चप्पल कारखानासम्म करिब ७ सय मिटर सडक ३५ प्रतिशत विस्तार कार्य भएको जानकारी दिए ।

सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको छ । असारभित्र उक्त खण्डको काम सकिसक्नुपर्ने भए पनि असोजसम्म म्याद थपिएको छ ।

‘भौतिक प्रगति ३५ प्रतिशत सम्पन्न भएको छ । लगभग स्ट्रक्चरको काम सकिएको छ । अब पेभमेन्टको काम, कालोपत्रेको काम बाँकी छ,’ सूचना अधिकारी नेपालीले भने, ‘यो खण्ड विस्तारका लागि असोजसम्म म्याद थप भएको छ । उक्त  म्यादमा निर्माण सम्पन्न हुँदैन । चैतसम्म लाग्छ ।’

खानेपानी, ढल विद्युत् भूमिगतलगायत कारण निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ । उनका अनुसार यस खण्डमा तीन वटा स्पान रहेको एउटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । यो खण्ड २२ करोडमा लागतमा ठेक्का सुरु गरिएको हो । उक्त सडकलाई १० मिटर फराकिलो चाइनाकै मोडालिटीअनुसार निर्माण गर्ने गरी काम भइरहेको छ । 

‘महाराजगञ्जदेखि कोटेश्वरसम्म सडक विस्तारका लागि क्लियर भएको छैन, नभएको हुँदा सबै खण्ड विस्तारका लागि ठेक्का लगाउन सकेको छैन,’ उनले भने, ‘तीकुनेदेखि सिनामंगलसम्म टुक्राटुक्री काम भएको छ ।’

#कलंकी–बसुन्धरा #चक्रपथ चक्रपथ #बिस्ता रचक्रपथ #सडक विस्तार

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here