रोकिएन ट्रम्पको लोकप्रियता घट्ने क्रम
समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा कमी आएको छ, हालैको सर्वेक्षणले देखाएको छ।
- आप्रवासन नीति, सरकारी खर्च कटौती र मेडिकेड जस्ता मुद्दाहरूमा मानिसहरू ट्रम्पप्रति असन्तुष्ट छन्।
- ट्रम्पले चुनावी वाचा पूरा गर्न नसकेको र नीतिका कारण मुद्रास्फीति बढेको आरोप छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प करिब छ महिना अघि बलियो बहुमतका साथ सत्तामा आएका थिए । तर उनले आफ्नो लोकप्रियता कायम राख्न सकेका छैनन् । हालै भएको जनमत सर्वेक्षणमा उनको लोकप्रियतामा ठुलो कमी देखिएको छ ।
खास गरेर आप्रवासन नीति, सरकारी खर्चमा कटौती र मेडिकेड जस्ता मुद्दामा मानिसको मनमा उनीप्रति धेरै आक्रोश छ । यो सर्वेक्षण एसोसिएटेड प्रेस–एनओआरसी सेन्टरले गरेको हो । यस वर्षको सुरुमा आप्रवासनको मुद्दामा ट्रम्पले जस्तो खालको रेटिङ पाएका थिए, अहिले त्यो पनि घटेको छ । जबकि आप्रवासन यस्तो मुद्दा थियो जो ट्रम्पको ताकतको रूपमा रहेको थियो ।
ट्रम्प प्रशासनको नीतिले उनीहरूको दैनिक जीवनमा कुनै सकारात्मक प्रभाव पारेको छैन भनेर सर्वेक्षणमा मानिसहरूले बताएका छन् । बरु धेरै मानिसहरू आफ्नो समस्या बढेको वा उनको नीतिबाट आफूहरूलाई चोट पुगेको विश्वास गर्छन् ।
ट्रम्पको आगमनसँगै एक तिहाइ मानिसहरूले मात्र राहत पाएको विश्वास गरेका छन् । विपक्षी दल डेमोक्र्याटिक पार्टीका समर्थक र आधा स्वतन्त्र मानिसहरूले ट्रम्पको नीतिले उनीहरूको जीवनमा नराम्रो प्रभाव पारेको बताएका छन् । धेरै रिपब्लिकन समर्थकहरूले पनि यस्तै धारणा राखेका छन् ।
ट्रम्पले सकेनन् वाचाहरू पूरा गर्न
राष्ट्रपतिको चुनावी अभियानको क्रममा ट्रम्पले श्रमिक वर्गको दैनिक आवश्यकताहरूको लागत घटाउने, मेडिकेड जस्ता सामाजिक कल्याणकारी योजनाहरू जारी राख्ने, विदेशमा जारी युद्ध अन्त्य गर्ने र सरकारी खर्चमा कटौती गर्ने वाचा गरेका थिए ।
यद्यपि, यसको विपरीत भइरहेको छ । ट्रम्प सरकारको ट्यारिफ नीतिका कारण अमेरिकामा मुद्रास्फीति बढ्दै गएको छ ।
सरकारले ‘बिग ब्यूटीफुल’ विधेयकमार्फत सामाजिक कल्याणकारी योजनाहरू कटौती गर्दैछ र मेडिकेड सुविधाहरू पनि घटाउँदैछ । यसका कारण अमेरिकाका १ करोड १० लाख मानिसहरू स्वास्थ्य बीमाबाट बाहिर हुनेछन् र यसले संघीय सरकारको ऋण पनि खर्बाैं डलरले बढाउनेछ ।
ट्रम्पले युक्रेन–रुस, गाजा युद्धहरू अन्त्य गर्न पनि संघर्ष गरिरहेका छन् । तर अहिलेसम्म रूस–युक्रेन युद्ध र पश्चिम एसियामा शान्ति स्थापना हुन सकेको छैन ।






प्रतिक्रिया दिनुहोस्