सम्पत्ति शुद्धीकरण अनुसन्धानमा छलाङ, एकै वर्षमा ७८ अर्बभन्दा बढीको मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१–८२ मा आफ्नो कार्यसम्पादनमा ऐतिहासिक फड्को मारेको छ । विभागले स्थापनाकालदेखिको १५ वर्षमा दायर गरेका कुल मुद्दाको बिगोभन्दा ५ गुणा बढी रकमको मुद्दा यही आर्थिक वर्षको हालसम्ममा दायर गरेको हो।
विभागले सार्वजनिक गरेको प्रगति विवरणअनुसार, स्थापना भएको १५ वर्षमा (आ.व.) २०६६–६७ देखि २०८०–८१ सम्म) कुल १०१ वटा मुद्दामा करिब १४ अर्ब रुपैयाँ बिगो माग दाबी गरिएको थियो। तर, चालु आर्थिक वर्षमा मात्रै २० वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर भएका छन्, जसमा ८० जना व्यक्ति र २१ वटा संस्थाविरुद्ध ७८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।
विभागले उजुरी फर्स्योटमा पनि कीर्तिमानी कायम गरेको छ। विगतका वर्षमा वार्षिक अधिकतम ५६० वटा उजुरी फर्स्योट हुने गरेकोमा यस आर्थिक वर्षमा हालसम्म ८८० वटा उजुरी फर्स्योट भइसकेको विभागको दाबी छ । जुन सुरुमा बाँकी रहेका उजुरीको करिब ५० प्रतिशत हो।
विभागमा स्थापनाकालदेखि हालसम्म ४ हजार ३ उजुरी प्राप्त भएकोमा २ हजार १५० उजुरी फर्स्योट भएको विभागको तथ्याङ्क छ । विभागले यस अवधिमा ४८ अर्ब, ६ अर्ब, ४ अर्ब जस्ता ठुला बिगो भएका जटिल प्रकृतिका कसुरलाई अनुसन्धानको दायरामा ल्याएको जनाएको छ । बहुमूल्य धातुको अवैध कारोबार, तस्करी, सङ्गठित अपराध र अन्तरदेशीय अपराधसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकतामा राखी अनुसन्धानलाई तीव्रता दिइएको विभागले जनाएको छ।
विभागले चालु आर्थिक वर्षमा विनियोजित बजेटको तुलनामा चालुतर्फ ८६.३१ प्रतिशत र पुँजीगत तर्फ ८१.९९ प्रतिशत बजेट खर्च भएको जनाएको छ । यसका साथै, विशेष अदालतबाट फैसला भई जफत भएको १ करोड २७ लाखभन्दा बढी रकम सरकारी कोषमा दाखिला गरेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्