घुस डिल प्रकरणका सबैमाथि अनुसन्धान हुनुपर्छ : थापा
समाचार सारांश
- नेकपा एमाले नेता सूर्य थापाले घुस डिलको अडियोमा संलग्न सबैमाथि छानबिन हुनुपर्ने बताए।
- मन्त्री राजकुमार गुप्ताको राजीनामाले यस विषयको गम्भीरतालाई स्वीकार गरेको थापाको भनाइ छ।
- उनले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले घुस डिल भएको भनिएको विवादास्पद अडियोमा आवाज भएका सबैमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ ।’
सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी दूधको दूध, पानीको पानी छुट्याउनुपर्नेमा उनको जोड छ । उनले भनेका छन्– ‘झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन।’
विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस गर्नका लागि नभई सुशासनको प्रत्याभूति गर्नको लागि भएको उनको प्रतिक्रिया छ ।






प्रतिक्रिया दिनुहोस्