रसुवामा बाढीको वितण्डाः व्यापारी भन्छन् – अर्बौँ लगानी डुब्यो
समाचार सारांश
- चीनबाट आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाउँदा नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा अवरोध आएको छ।
- बाढीले रसुवागढी हाइड्रोपावरको ड्याम, ईभी चार्जिङ स्टेसन, र निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुर्याएको छ, जसले गर्दा अर्बौंको व्यावसायिक लगानी डुबेको छ।
- दसैंको लागि आयात गरिएका सामान बोकेका कन्टेनर बगाउँदा व्यवसायीहरूले ठूलो नोक्सानी बेहोरेका छन् र सरकारले तत्काल राहतको पहल गर्नुपर्ने माग गरेका छन्।
काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण नेपालको चीनसँगको सम्पर्क टुटेको छ । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल बगाएको छ ।
बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठुलो क्षति पुर्याएको छ, जसका कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । बाढीले रसुवा गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको ईभी चार्जिङ स्टेसन, रसुवागढी हाइड्रोपावरको ड्याम र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्याएको छ ।
बाढीले रसुवागढी नाकामा भौतिक संरचनासँगै अर्बौँको व्यावसायिक लगानी डुबाएको छ । दसैँका लागि व्यापारीहरूले चीनबाट आयात गरेका ईभी गाडी, तयारी कपडा, जुत्ताचप्पल, फलफूललगायतका सामान बोकेका कन्टेनरहरू बगाउँदा अर्बौँको नोक्सानी भएको व्यवसायीहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले चीनबाट आयात भएका ईभीका सवारी साधन र सामान बोक्ने कन्टेनरहरू बगाएको छ भने उक्त घटनामा हालसम्म ५० जनाको उद्धार गरिएको छ ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले रसुवागढी बाढीले अटो क्षेत्रमा ठुलो क्षति पुर्याएको बताए । क्षतिको यकिन तथ्यांक संकलन भइरहेको जानकारी दिँदै उनले भने, ‘अटो व्यवसायीहरूले अर्बौँ लगाएर चीनबाट ल्याएका ईभीहरू बाढीले बगाएको हुन सक्छ । चीनबाट कति विद्युतीय सवारी साधन आएका थिए र कति भन्सार पास भएर काठमाडौँ आइपुगे भन्नेबारे यकिन डाटा संकलन हुँदैछ ।’ उनले बाढीले केरुङ–रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको र भन्सार परिसरमा पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको उल्लेख गरे ।
नेपाल सीमापार हिमालय वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बाढीले करिब ३५ वटा गाडी र एक सयभन्दा बढी ईभी सवारी साधन बगाएको जानकारी दिए ।
उनका अनुसार रसुवागढी भन्सार कार्यालयको यार्डमा रहेका धेरै कन्टेनर डुबेका छन् भने केहीलाई बाढीले बगाएको छ । उनले भने, ‘बाढीमा डुबेका कन्टेनरमा भएका सामान पनि काम नलाग्ने हुँदा व्यापारीहरूको ठुलो लगानी पानीमा विलाएको छ । यसले साना व्यवसायीहरूलाई ठुलो क्षति भएको छ।’ बाढीले दुई देशबिचको सम्बन्ध टुट्दा चीनतर्फ करिब ३०–३५ जना नेपाली चालक–सहचालक अड्किएको समेत कार्कीले बताए ।
नेपाल व्यापार संघका अध्यक्ष भीम गौतम, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ र व्यवसायी नरेश कटुवालले पनि दसैँलाई लक्षित गरी आयात गरिएका सामानहरू बाढीले बगाउँदा व्यवसायीहरूले आफ्नो वर्षभरिको लगानी गुमाएको बताए । उनीहरूले धेरै व्यवसायीहरू आत्तिएको र ठुलो नोक्सानीमा परेको उल्लेख गरे ।
अध्यक्ष गौतमले भने, ‘कुन व्यापारीले कति सामान ल्याएको थियो भन्ने यकिन भएको छैन, तर व्यवसायीहरू धेरै आत्तिएका छन् । उनीहरूको वर्षभरि कमाएर लगाएको लगानी डुबेको छ ।’ महासंघका अध्यक्ष श्रेष्ठले भने, ‘व्यापारीहरूले एक वर्षभरि कमाएको पैसा लगानी गरेर दसैँमा थोरै कमाउने उद्देश्यले ल्याएका सामान बाढीले बगायो ।’
व्यवसायी कटुवालले चीनबाट आउने सामानहरू अब तातोपानी भन्सार हुँदै ल्याउनुपर्ने अवस्था सिर्जना भएको बताए । बाढीपीडित व्यवसायीहरूले सरकारले तत्काल उद्धार, राहत र नाका सञ्चालनका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्