पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काभ्रेको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतमलाई बाढीले बगाएको पुल बिक्री गरेको आरोपमा पक्राउ गरिएको छ।
  • प्रहरीले ट्रक र व्यक्तिहरूलाई नियन्त्रणमा लिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • उनीहरूले सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी मनोमानी रुपमा पुल बिक्री गरेको आरोप छ।

२० जेठ, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरेको हो ।

frontline

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको पुष्टि गरे । वडाअध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी गरिएको उनले बताए ।

गत असोजमा रोशी खोलमामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीलाई बिक्री गरेको आरोप उनी पक्राउ परेका हुन् ।

सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्री गरेको स्थानीयको आरोप छ ।

खोलामा रहेको पुल काटेर कबाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कबाडीवालाबीच केही विवाद भएको थियो । वडा अध्यक्षको निर्देशनमा सामान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।

सोही सूचनाका आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलीले रोशी– ७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति पुल लोड भएका बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रहरीले ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको थियो । साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ बर्ष ४७का मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ वर्ष ४० का रमेश लामालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाअध्यक्ष गौतमले भने नमोबुद्द-६ को समेत समन्वयमा सामान उठाएको बताएका छन् ।

बाढीले बगाएको पुल । यही पुलको सामान बेचिएको हो ।

रोशी गाउँपालिका |वडाध्यक्ष

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here