प्रधानमन्त्री ओली नेता माधव नेपाल प्रति असन्तुस्ट
काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालप्रति खनिएका छन्।
नेता नेपालले आफ्नो नेतृत्वको सरकार ढाल्ने गतिविधि गरिरहेकोले उनले असन्तुष्टि जनाएका हुन्।
‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने? अर्को सरकार बनाउन त्यहाँ पुग्ने? समर्थन गर्न पुग्ने?,’ बालुवाटारमा आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति लक्षित गर्दै ओलीले भने।
नेता नेपाल पक्षका २८ सांसद वैशाख २७ मा ओलीले संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। पछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
यसो गरिनु पार्टीको अनुशासनविपरीत भएको ओलीको भनाइ थियो।
‘दलीय अनुशासन प्रणाली, संसदीय अनुशासन प्रणाली बेगरका काम भएका छन्। तिनले खाएको सपथ झुठो हो र बैमानी हो,’ ओलीले भने, ‘उनीहरूले खाएको सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ।’
उनले नेतृत्व तहबाटै अनुशासनहित काम भएपछि तल पनि अनुशासन कायम हुन नसक्ने बताए।
‘नेतृत्व तह नै अनुशासनहीत र अराजकतामा उत्रिन्छ अनि त्यसलाई गर्वसाथ लिने?,’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिज्यूकहाँ पुगेर म विरोधका लागि आएको छु भन्ने? सरम छैन?’
देउवासँगै संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री दावी गर्न नेत नेपाल आफू पक्षका सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएका थिए।
प्रतिक्रिया दिनुहोस्