गृहमन्त्रीले राजीनामा दिनुपर्छ : शेखर कोइराला

गृहजिल्ला मोरङ पुग्नुभएका काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले हिजो विराटनगरका सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुभएको छ । सोही क्रममा सोधिएका केही प्रश्नको जवाफ कोइरालाले यसरी दिनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएको काण्डमा किन चुप बस्नुभएको ? 

frontline

म कहाँँ  चुपलागेको छु ? संसदीय इतिहासमा यस्ता घटना धेरै भएका छन । विगतमा यस्ता घटनामा मन्त्रीहरुले राजिनामा दिएर छानबिन समिति बनाउन सहयोग गरेको घटना हाम्रै देशमा छन् । पूर्व अर्थमन्त्रीहरु जर्नादन शर्मा र डा. रामशरण महतले त राजीनामा नै गर्नुभयो । अन्य मन्त्रीहरु गोकुल बाँस्कोटा, शेरबहादुर तामाङलेले पनि राजीनामा दिएर छानबिनमा सहयोग गरेका थिए । 

अब प्रश्न उठिसकेपछि गृहमन्त्री रमेश लेखकले पनि आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्छ । आफू क्लिन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक हुन्छ । राजनीतिमा नैतिकताको महत्व अन्यत्रभन्दा धेरै हुन्छ ।  

इस्यु आएपछि आफू क्लिन छु भन्ने देखाउन पनि पद छाड्नुपर्छ ।  संलग्नता नहोला त्यो पछिको कुरा हो तर आफू क्लिन छु भन्ने देखाउन पनि छानबिन हुन जरुरी छ । पछि क्लिन चिट पाएपछि फेरि पदमा आउँदा फरक पर्दैन । पार्टीमा कारबाही गर्ने नगर्ने भन्ने कुरा पछिको हो । 

निजामतीमा ‘कुलिङ अफ पिरियड’ बारे काँग्रेसको धारणा के हो ? 

उच्च पदस्थ सरकारी कर्मचारीलाई दुई वर्षे कुलिङ अफ पिरियडमा राख्नुपर्छ । यसमा सांसद, सचिव, नेता कसैले चिन्ता गर्नुपर्ने काम छैन । रिटायर्ड भएकै भोलिपल्ट नियुक्ति खाइरहनुभएको छ । अहिले पनि २२ देखि २३ जना सचिवहरू संवैधानिक निकायमा  छन् । यो त उहाँहरूको पोस्ट रिटायर्डमेन्ट क्लब जस्तै भएको छ । यसैले पनि निजामती ऐनमै कुलिङ अफ पिरियड राख्नुपर्छ । 

तपाइँ हिन्दु राष्ट्रको वकालत गर्दै आउनुभएको छ । के अब राजतन्त्रलाई पनि काँग्रेसले सहयोग गर्ने हो ?

हिन्दू राष्ट्र राख्ने, राजा ल्याउने बहस गर्नु नै बेकार हो । यो विषयमा डराउनुपर्ने कारण नै छैन । लोकतन्त्रवादी भनिसकेपछि काँग्रेस माओवादी, एमाले कसैले पनि डराउनु हुँदैन । मलाई हिन्दु राष्ट्र र राजतन्त्रको बारेमा प्रश्न गर्दै नगर्नोस् । मुलुक भ्रष्टाचारमा जकडिएको छ त्यसलाई कसरी कम गर्ने भनेर अब बहस गर्नुपर्छ । भ्रष्टाचार र नीतिगत भ्रष्टाचारमा संलग्नता बढको बढयै छ । हामीले यो बेला यसमा बहस गर्नुपर्छ ।  
 
तोकिएको सययभित्रै काँग्रेसको महाधिवेशन हुनसक्छ ?

नेपाली कांग्रेसको महाधिवेशन मंसिरभित्रै हुनुपर्छ । २०८२ को मंसिरमा महाधिवेशन गर्नुपर्छ भनेर सबैले स्टाटस लेखौं । नेतृत्वलाई दबाब दिऔं । किनभने काँग्रेस विधिमा चलेको सबैभन्दा लोकतान्त्रिक पार्टी हो । 

गभर्नरमा राजनीतिक व्यक्तिलाई नियुक्त गरियो भन्ने आरोप छ नि ?

गभर्नर राजनीतिक व्यक्तित्व हुनुभयो भन्ने विषय ठूलो होइन । उहाँले कसरी काम गर्नुहुन्छ त्यो हेर्नुपर्छ । क्यानडाका प्रधानमन्त्री पहिले बैंक अफ इङ्गल्याण्डको गभर्नर हुनुहुन्थ्यो । 

कोशी प्रदेश सरकारमा काँग्रेसको कोटाको एकजना मन्त्री अझै नियुक्त नहुनुको कारण ?

प्रदेश सरकारमा मन्त्री नियुक्ति मैले गर्ने होइन । संसदीय दलको नेता बसेर निधो गरे हुन्छ । संसदीय समिति छ । नेताहरू छन्, उहाँहरूले नै गर्ने हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here