आँधीले दाङ देउखुरीमा बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति, सोमबार साँझदेखि विद्युत् आपूर्ति बन्द

News Summary
Generated by OK AI. Editorially reviewed.
- आँधीले दाङको देउखुरीमा विद्युत् पोल र ट्रान्सफर्मरलाई क्षति पुर्याएपछि आपूर्ति बन्द भएको छ।
- नेपाल विद्युत् प्राधिकरण लमहीले २० पोल र २ ट्रान्सफर्मर क्षतिग्रस्त भएको जानकारी दिएको छ।
- सहायक इन्जिनियर बुद्धिमान चौधरीले हावाहुरीले ठूलो क्षति पुर्याएको र मर्मत कार्य भइरहेको बताए।
६ जेठ, लमही । दाङ देउखुरीमा आँधी आउँदा बिजुलीका पोल र ट्रान्सफर्मरमा क्षति पुर्याउँदा विद्युत् आपूर्ति बन्द भएको छ ।




सोमबार साँझ आएको आँधीले देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न ठाउँमा पोल ढलेको, तार चुँडिएको र ट्रान्सफर्मरमा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण लमहीले जनाएको छ ।
सहायक इन्जिनियर बुद्धिमान चौधरीका अनुसार हावाहुरीबाट २० वटा पोल र २ वटा ट्रान्सफर्मर क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । जसका कारण गढवा फिडर अन्तर्गत जंग्रहवादेखि सालभौरीसम्म विद्युत् आपूर्ति बन्द भएको छ ।
‘हावाहुरीले ठूलो क्षति पुर्याएको छ,’ सहायक इन्जिनियर चौधरीले भने, ‘गढवादेखि पश्चिम बेलासम्म लाइन छ, त्योभन्दा उता लाइन छैन ।’
उनले क्षतिको सबै विवरण संकलनको काम भइरहेको र मर्मतको काम पनि थालिएको जानकारी दिए ।
‘ठेकेदार र विद्युत् प्राधिकरणको प्राविधिक टोली हिजो रातिदेखि नै मर्मतमा खटिइसकेको छ,’ चौधरीले भने, ‘सकेसम्म आजै मर्मत गरिसकेर ट्रान्सफर्मर चार्ज गरिसक्ने प्लान छ ।’
प्रतिक्रिया दिनुहोस्