वडा स्तरीय ३ दिने लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी तालिम सम्पन्न

मेवालाल यादव
रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं. २ स्थित औघरवावा समुदाय भवनमा वडा स्तरिय ३ दिने लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिममा इशनाथ नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू र प्रत्येक वडाका दुई जना निर्वाचित सदस्यहरू गरी कुल २७ जना जनप्रतिनिधिहरू सहभागी भएका थिए। तालिममा लैङ्गिक उत्तरदायी बजेट निर्माण, बजेट तर्जुमा, लैङ्गिक समावेशिता र बजेटमा लैङ्गिक समताका सवालहरूमा छलफल र प्रशिक्षण दिइएको थियो।




तालिमको उद्घाटन सत्र २२ गते सम्पन्न भएको थियो, जहाँ प्रमुख अतिथि इशनाथ नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाले मैनबत्ती बालेर उद्घाटन गरिन्। उद्घाटन समारोहमा मेयर सिन्हाले लैङ्गिक उत्तरदायी बजेटको महत्त्वबारे प्रकाश पार्दै यस किसिमका तालिमहरूले स्थानीय तहमा लैङ्गिक समानता र समावेशितालाई प्रवद्र्धन गर्ने बताइन्। उनले थपे, “लैङ्गिक उत्तरदायी बजेटमार्फत महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र समाजका कमजोर वर्गको उत्थानमा टेवा पुग्नेछ। यसका लागि जनप्रतिनिधिहरूको सक्रिय सहभागिता आवश्यक छ।”
तालिममा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता बिशिष्ट अतिथिको रूपमा उपस्थित थिए। उनले तालिमको महत्त्वलाई औंल्याउँदै स्थानीय तहमा लैङ्गिक समतामूलक बजेट निर्माणमा यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “बजेट निर्माण गर्दा सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिनुपर्छ र लैङ्गिक उत्तरदायी बजेट तर्जुमा गर्दा हरेक वर्गको आवश्यकता पहिचान गरी बजेट विनियोजन गर्नुपर्छ। यसले लैङ्गिक विभेद हटाउन सहयोग गर्नेछ।”
तालिमको सञ्चालन माण्डवी नेपालले गरेको थियो र इशनाथ नगरपालिकाको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो। माण्डवी नेपालकी अध्यक्ष अञ्जु झाले तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै यो तालिमबाट जनप्रतिनिधिहरूले लैङ्गिक उत्तरदायी बजेट निर्माणमा आवश्यक सीप र ज्ञान प्राप्त गरेको बताइन्। उनले भनिन्, “यस तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्न आवश्यक छ। यसले लैङ्गिक समानता र समावेशितालाई प्रवद्र्धन गर्नेछ।”
तालिममा सहभागी जनप्रतिनिधिहरूले प्रशिक्षण उपयोगी भएको प्रतिक्रिया दिएका छन्। वडा नं. ६ का अध्यक्ष जवाहर साहले भने, “यस तालिमबाट लैङ्गिक उत्तरदायी बजेट निर्माण र कार्यान्वयनमा महत्वपूर्ण ज्ञान प्राप्त भएको छ। स्थानीय स्तरमा बजेट तर्जुमा गर्दा सबै वर्ग र समुदायलाई समान रूपमा समेट्न ध्यान दिन आवश्यक छ।”
तालिममा प्रशिक्षकहरूले लैङ्गिक उत्तरदायी बजेट निर्माणका विभिन्न चरण, नीति, बजेटमा लैङ्गिक समावेशिता, निगरानी र मूल्याङ्कनका पक्षमा प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरूले बजेट निर्माण गर्दा महिलाको प्रतिनिधित्व, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय र अन्य पिछडिएको वर्गलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
तालिमको समापन सत्रमा माण्डवी नेपालकी अध्यक्ष अञ्जु झाले तालिमको उपलब्धिबारे समीक्षा गर्दै आगामी दिनमा लैङ्गिक उत्तरदायी बजेट निर्माणका लागि थप चरणहरूको आयोजना गरिने जानकारी दिइन्। उनले भनिन्, “तालिमको दोस्रो चरणमा बाँकी रहेका अन्य वडाका जनप्रतिनिधि र वडा सचिवहरूलाई सहभागी गराइनेछ। यसले स्थानीय तहमा लैङ्गिक समानता र समावेशिता प्रवद्र्धनमा थप सहयोग गर्नेछ।”
यस तालिमले स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट निर्माणको प्रक्रियामा जनप्रतिनिधिहरूलाई सशक्त बनाएको छ र यसका माध्यमबाट लैङ्गिक समानता र समावेशिता बढाउने दिशामा महत्वपूर्ण कदम चालिएको छ।
प्रतिक्रिया दिनुहोस्