भूकम्पले तर्साएपछि घरमा नबस्ने भन्दै २ वर्षदेखि गुफाको बास (भिडियोसहित)

सन् २०२३ मा गएको शक्तिशाली भूकम्पमा आफ्नो घर गुमाएका एक टर्किस पुरुष त्यसयता एक्लै एउटा सानो गुफामा बसिरहेका छन् । भूकम्प आफ्नो बलियो घर गर्ल्यामगुर्लुम ढालेको देखेका उनले मानिसले बनाएका कुनै पनि संरचना भन्दा गुफा नै बलियो हुने भन्दै गुफाबास रोजेका हुन् ।
सन् २०२३ को फेब्रुअरीमा दक्षिणी टर्कीमा ७.८ रेक्टर स्केलको भूकम्प गयो, जसमा दशौं हजार मानिस मारिए भने लाखौं भौतिक संरचना ध्वस्त भए ।




टर्कीको दक्षिण हाटे प्रान्तका बासिन्दा अली बोजोग्लानको घर पनि भुईंचालोमा भत्कियो । विनाशकारी भुईंचालोमा उनको परिवारका सबैजना जिवितै रहन सफल भए पनि घर भत्किएको देखेका अली यतिधेरै त्रसित भए कि उनले त्यहाँबाट अब कहिल्यै पनि मानव निर्मित संरचनाभित्र नबस्ने निधो गरे । त्यसपछि उनले सहर बाहिरको एकान्त ठाउँमा एउटा सानो गुफा फेला पारे र त्यसैलाई नै आफ्नो एउटा सानो घरको रुपमा परिणत गरे । हुनत उक्त गुफाघरमा परिवारका सबै सदस्यलाई लैजाने प्रयासमा उनी सफल हुन सकेनन् । तथापि उनी एक्लै भएपनि २ वर्षदेखि उक्त घरमा खुसी र शान्तिसँग बस्दै आएका छन् ।
उनी भन्छन्- भूकम्पपछि विगत दुई वर्षदेखि म यहाँ बस्दै आएको छ । मैले यही गुफामा शान्ति प्राप्त गरेको छु। यो गुफा हजारौं वर्षदेखि अस्तित्वमा छ र भत्किएको छैन ।
घरबाट तर्सिएर गुफामा बसिरहेका अलीको विषयमा खबर फैलिएपछि स्थानीय सरकारले उनलाई सहर नजिकै एउटा सानो कन्टेनरमा तयार पारिएको घर दिने प्रस्ताव गर्यो । तर, उनी अब आफू त्यो भिडभाडपूर्ण सहरमा नजाने र शान्त गुफामै बस्ने भनेर त्यहीँ रहे ।
आफ्नो गुफाको जीवन निकै सुन्दर रहेको दाबी गर्दै उनले आफू प्रकृतिको स्पर्शमा रहेको बताउँछन् ।
तर, गुफामा एक्लै बस्नु सजिलो भने छैन, जुन स्वयं अलीले स्वीकार गरेका छन् । नबुझेका मानिसहरुले उनका बारेमा खराब कुरा गर्दछन् । साथै यो प्राकृतिक बासस्थान भएकाले त्यहाँ सर्प तथा मुसाजस्ता जिवहरु पनि आइरहन्छन् । अहिले त उनलाई त्यस्तो बानी नै परिसकेको छ । आफ्नो गुफाघरमा सोलार प्यानल जोडेर रेफ्रीजेरेटर र वासिंग मेसिन चलाउने योजनामा उनी छन् । तर, जतिसुकै दु:ख भए पनि तत्काल पुनः फर्किएर घरमा चाहिं नजाने उनको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस्