पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा मंगलबार दुई बलिया टोली अस्ट्रेलिया र दक्षिण अफ्रिका आपसमा भिड्दै छन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेल नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दक्षिण अफ्रिका र अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा रहेका छन् । उक्त समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । अस्ट्रेलिया र दक्षिण अफ्रिका आफ्नो अघिल्लो खेलमा विजयी भएका थिए ।




दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई एक सय सात रनको विशाल अन्तरले हराएको थियो । अस्ट्रेलियाले भने आफ्नो पहिलो खेलमा इङ्ल्यान्डमाथि पाँच विकेटको जित हासिल गरेको थियो ।
दक्षिण अफ्रिका दुई अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । समान दुई अंक बटुले पनि अस्ट्रेलिया दोस्रो स्थानमा छ । अस्ट्रेलियाको भन्दा दक्षिण अफ्रिकाको नेट रन रेट निकै राम्रो छ । तेस्रो स्थानमा आसीन इंग्ल्याण्ड र चौथो स्थानको अफगानिस्तानले अंक बटुल्न सकेका छैनन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा अस्ट्रेलिया दोस्रो स्थानमा आसीन छ । दक्षिण अफ्रिका भने वरीयताको पाँचौँ स्थानमा छ । यी दुवै टोली मंगलबारको खेलमा पनि जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने धुनमा रहने छन् ।
- च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया
अस्ट्रेलियाले सन् १९९८ मा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको यो लगातार नवौँ सहभागिता हो ।
अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । सन् २००६ मा आयोजित प्रतियोगिताको पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।
यसैगरी, सन् २००९ मा सम्पन्न च्याम्पियन्स ट्रफीको छैटौँ संस्करणको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । उक्त संस्करणको फाइनलमा अस्ट्रेलियन टोलीले छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई ६ विकेटले हराएको थियो ।
अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एकमात्र राष्ट्र र दुईपटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो राष्ट्र पनि बनेको थियो । अस्ट्रेलियन टोलीले दुवैपटक रिकी पोन्टिङको कप्तानीमा उपाधि चुमेको थियो । यसदेखि बाहेक अस्ट्रेलिया प्रतियोगिताको फाइनलसम्म पनि पुग्न सकेको छैन ।
- च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले पनि सन् १९९८ मा आयोजित पहिलो संस्करणदेखि नै निरन्तर रूपमा च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको पनि यो लगातार नवौँ सहभागिता हो ।
दक्षिण अफ्रिकाले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ । दक्षिण अफ्रिकाले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणकै उपाधि कुम्ल्याएको थियो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा दक्षिण अफ्रिका ऐतिहासिक टोली पनि हो ।
उक्त संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई चार विकेटले हराउँदै उपाधि हात पारेको थियो । आईसीसीद्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरुमा दक्षिण अफ्रिकाले जितेको यो एकमात्र उपाधि पनि हो ।
त्यतिबेला दक्षिण अफ्रिकी टोलीको कप्तान थिए, हेन्सी क्रोनिए । यसदेखि बाहेक दक्षिण अफ्रिकी टोली कुनै पनि संस्करणको फाइनलसम्म पनि पुग्न सकेको छैन ।
- आपसमा पहिलो भिडन्त
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच च्याम्पियन्स ट्रफीमा एउटा रमाइलो संयोग पनि छ । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि हालसम्म यी दुई टोलीबिच च्याम्पियन्स ट्रफीमा आपसमा भने भिडन्त भएको छैन ।
च्याम्पियन्स ट्रफीको इतिहासमा मंगलबार यी दुई टोली पहिलो पटक आपसमा भिड्ने छन् । त्यसैले दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच मंगलबार रावलपिण्डीमा खेलिने खेल विश्वभरका समर्थकहरूका लागि पनि प्रतीक्षाको विषय बनेको छ ।
- एकदिवसीयमा अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका बलियो
हालसम्म यी दुई टोलीबिच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको अवस्थालाई हेर्दा अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका बलियो देखिन्छ । हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबिच एक सय १० पटक भिडन्त भएको छ ।
त्यसमध्ये दक्षिण अफ्रिकाले ५५ खेलमा अस्ट्रेलियालाई पराजयको स्वाद चखाएको छ । अस्ट्रेलियाले भने ५१ खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । यी दुई टोलीबिचको तीन खेल भने बराबरीमा सकिएको छ । एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।
- लयमा छन् अस्ट्रेलियन ब्याट्सम्यान जस इङ्लिस
पछिल्लो समय अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान जस इङ्लिस लयमा छन् । इङ्लिस यो वर्ष अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले यो वर्ष अस्ट्रेलियन टोलीका लागि दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल एक सय ४२ रन बनाएका छन् ।
यो वर्ष जस इङ्लिसले १२५.६६ को स्ट्राइक रेटमा रन बनाएका छन् । जारी च्याम्पियन्स ट्रफीमा पनि उनले पहिलो खेलमा अस्ट्रेलियाका लागि शतक बनाएका थिए । उनकै उत्कृष्ट ब्याटिङमा पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो ।
इङ्ल्यान्डविरुद्धको उक्त खेलमा उनले अविजित एक सय २० रन बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ८६ बलको सामना गरी ६ छक्का र आठवटा चौका पनि हिर्काएका थिए । उक्त खेलमा ओपनर म्याथ्यू सर्टले ६३ र एलेक्स केरीले पनि ६९ रन बनाएका थिए ।
यसैगरी, बलिङमा शिन एबट र बेन ड्वारशस लयमा देखिएका छन् । यो वर्ष यी दुवै टोलीले चार–चार विकेट लिएका छन् । तर, एबटले तुलनात्मक रूपमा कम रन खर्चिएका छन् । एबट इङ्ल्यान्डविरुद्धको पहिलो खेलमा भने सहभागी थिएनन् । ड्वारशसले भने पहिलो खेलमा तीन विकेट लिएका थिए ।
- दक्षिण अफ्रिकालाई बाभुमा र मुल्डरको आश
पछिल्लो समय दक्षिण अफ्रिकाका लागि ब्याटिङमा कप्तान टेम्बा बाभुमा र बलिङमा बायन मुल्डरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । म्याथ्यू ब्रिट्जके यो वर्ष दक्षिण अफ्रिकाका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् ।
यी आक्रामक ब्याट्सम्यानले यो वर्ष दक्षिण अफ्रिकाका लागि दुई सय ३३ रन बनाइसकेका छन् । तर, दूर्भाग्य जारी च्याम्पियन्स ट्रफीमा उनी टोलीमा छैनन् । ब्रिट्जकेपछि दोस्रो सर्वाधिक रन बनाउने दक्षिण अफ्रिकी ब्याट्सम्यान बाभुमा हुन् ।
कप्तान बाभुमाले यो वर्ष तीन खेल खेल्दै ८२.०५ को स्ट्राइकर रेटमा कुल एक सय ६० रन बनाएका छन् । बलिङमा भने मुल्डर लयमा देखिएका छन् । उनले यो वर्ष चार विकेट लिइसकेका छन् । मुल्डरले अफगानिस्तानविरुद्धको पहिलो खेलमा पनि दुई विकेट लिएका थिए ।
- पक्षपात नगर्ने रावलपिण्डीको पिच
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच मंगलबारको खेल हुने रावलपिण्डी क्रिकेट स्टेडियमको पिच ब्याट्सम्यान र बलर दुबैका लागि उत्तिकै उपयोगी मानिन्छ । यो स्टेडियममा हालसम्म २७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।
यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले १२ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने १४ खेल जितेको इतिहास छ । एकदिवसीय क्रिकेटमा यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर तीन सय ३७ रन हो । उक्त स्कोर पाकिस्तानले न्युजिल्यान्डविरुद्ध बनाएको थियो ।
- वर्षाले खेल बिथोल्ने सम्भावना
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेल वर्षाले बिथोल्ने बलियो सम्भावना रहेको छ । मंगलबार रावलपिण्डीमा ६७ प्रतिशत वर्षाको सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
रावलपिण्डीको आकाश विहानैदेखि बादलले ढाकिने जनाइएको छ । रावलपिण्डीको तापमान मंगलबार १२ देखि १९ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ । मंगलबार रावलपिण्डी स्टेडियमा हावाको गति भने १५ किलोमिटर प्रतिघण्टा रहने उल्लेख छ ।
- सम्भावित टोली
अस्ट्रेलिया : स्टिभ स्मिथ (कप्तान), म्याथ्यू शर्ट, ट्राभिस हेड, मार्नस लाबुशेन, एलेक्स केरी, जस इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन ड्वारशस, नाथन एलिस, स्पेन्सर जोन्सन र एमडम जाम्पा ।
दक्षिण अफ्रिका : टेम्बा बाभुमा (कप्तान), रायल रिकेल्टन, हेनरिक क्लासन (विकेटकिपर), रासी भान डर डुसान, एडन मारक्रम, डेभिड मिलर, बायन मुल्डर, मार्को यानसन, कागिसो राबडा, केशव महाराज र लुङ्दी
प्रतिक्रिया दिनुहोस्