उपनिर्वाचनमा दलहरूको ‘मध्यावधि परीक्षण’

 राजनीतिक दलहरूले स्थानीय तह उपनिर्वाचनलाई आफ्नो मध्यावधि जनमत परीक्षणका रूपमा लिएका छन् । स्थानीय तहको ५ वर्षे कार्यकालको आधा अवधि पूरा भएको बेला आगामी आइतबार स्थानीय तहका करिब साढे तीन दर्जनमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको नतिजाले आगामी निर्वाचनसम्मलाई प्रभाव पार्न सक्ने रहेकाले वडा तहको चुनावमा पनि दलहरू शक्ति केन्द्रित गरेर सक्रियतापूर्वक होमिएका छन् । 

दुई जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तहका ४२ पदका लागि उपनिर्वाचन गरिएकामा ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध भइरहेको छ । ओखलढुंगामा कांग्रेसका टेकराज भट्टराई र कैलालीमा कांग्रेसकै टीकाकुमार चौधरी (भुल) निर्वाचित भएका हुन् । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा पनि माओवादीका जगत घर्ती निर्विरोध चयन भइसकेका छन् ।

frontline

उपनिर्वाचन हुन लागेका ४१ स्थानमध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले २७ वटामा जितेको थियो । ४१ मध्ये ४० स्थानमा कांग्रेसले उम्मेदवारी दिएको छ । उपनिर्वाचन हुन लागेको एक मात्र नगरपालिका कीर्तिपुरमा कांग्रेस, एमाले, माओवादी प्रमुख प्रतिस्पर्धी भए पनि स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने स्थानीयको विश्लेषण छ । २०७९ मा भएको निर्वाचनबाट कांग्रेसका राजकुमार नकर्मी प्रमुखमा निर्वाचित भएका थिए । उनको मृत्युपछि उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुरमा नगर प्रमुखका लागि २० जनाले उम्मेदवारी दिएका छन्, त्यसमध्ये ११ जना स्वतन्त्र छन् । कांग्रेसले कृष्णमान डंगोल, एमालेले सुरेन्द्र मानन्धर, माओवादीले शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले यहाँ उम्मेदवारी दिएको छैन । एकीकृत समाजवादीले माओवादीका महर्जनलाई समर्थन गरेको छ । यहाँ स्वतन्त्रबाट उम्मेदवार बनेका राजमान मानवले पनि चर्चा बटुलिरहेका छन् । धरानका प्रमुख हर्क साम्पाङ उनको पक्षमा प्रचारमा उत्रिएका छन् । यही उपनिर्वाचनबाट कीर्तिपुरका वडा न. १ र ४ मा पनि वडाध्यक्ष चयन हुनेछन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा कीर्तिपुरसहित अधिकांश स्थानीय तहमा जित हासिल पार्ने दाबी गर्छन् । ‘उपनिर्वाचन जनताको पछिल्लो अभिमत थाहा पाउने अवसर हो,’ उनले भने, ‘हाम्रो २७ स्थानमा खाली भएको थिया । कीर्तिपुरको मेयरसहित त्योभन्दा बढी स्थानमा जित्ने गरी लागिपरेका छौं ।’

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि उपनिर्वाचन हुँदै गरेका अधिकांश स्थानमा एमालेले जित्ने दाबी गरेका छन् । विगतमा एमालेले जितेका ९ स्थानमा उपनिर्वाचन हुँदै छ । ‘कीर्तिपुरसहित बहुमत स्थानमा जित्ने गरी लागेका छौं,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, पार्टीको बलियो संगठन र जनाधारका कारण धेरै स्थान जित्छौं,’ उनले भने ।

माओवादीका उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटा सरकारमा रहेका बेला सुशासनको पक्षधर, भ्रष्टाचारको खरो विरोधीको पहिचान बनाएकाले चुनावमा जनताको साथ पाउने दाबी गरे । उनले भने, ‘पार्टी बढी एकताबद्ध भएर लागेको छ, चुनाव जित्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here