महोत्तरी वनमा भ्रष्टाचार : विशेष अदालतद्वारा ६ जना दोषी ठहर
विशेष अदालत काठमाडौँले महोत्तरीको एक सरकारी वन फडानीमा तत्कालीन वन अधिकृतसहित ६ जनालाई दोषी ठहर गर्दै १८ जनालाई सफाइ दिएको छ। विशेष अदालतले वन फडानी गर्दै भ्रष्टाचार गर्ने कार्यमा ६ जनाको मात्र संलग्नता देखिएको र अन्य प्रतिवादीको अभियोग दाबी नपुग्ने भन्दै यस्तो फैसला सुनाएको हो । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो ।
विशेषले लक्ष्मणप्रसाद यादव, रामदरस राउत, शेरबहादुर राउत कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीलाई दोषी ठहर गरेको छ। उनीहरूको हकमा सजाय निर्धारण भने असार २५ गते हुने विशेष अदालतको फैसलामा उल्लेख छ। विशेषले दुई रूपमा अभियोगमाथि दोषी ठहर गरेको छ।
विशेष अदालतले लक्ष्मणप्रसाद यादव, रामदास राउत र शेरबहादुर राउतलाई ११ लाख ९६ हजार ६ सय बराबरको रुख कटानीमा अनुमति दिएको भन्दै त्यसमा भ्रष्टाचार गरेको ठहर गरेको छ । त्यस्तै प्रतिवादीहरू कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीले सामुदायिक वनको रुख व्यक्तिगत भएको भनी सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको विशेषको फैसलामा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त अभियोगमा साहले भने सफाइ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्