एन्फा उपाध्यक्ष लामा पक्राउ
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक सन्जालमा सक्रिय थिए।
उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो।
अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए। लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए।
लामालाई २०६१ साउन ८ गते काठमाडौँको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। सर्लाही घर भएका लामा काठमाडौँ बस्दै आएका थिए।
२०७८ असार ६ गते एन्फा निर्वाचनमा अध्यक्ष पंकज विक्रम नेम्वाङको प्यानलबाट लामा उपाध्यक्ष निर्वाचत भएका थिए।
प्रतिक्रिया दिनुहोस्