एकै रात सहकारीका दुई कार्यालयबाट करिब १३ लाख चोरी
मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको छ ।
लेटाङ नगरपालिका-२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ-२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो ।
मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए ।
मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको उनले बताए ।
सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्