स्वदेशी लगानीमा ठूलो जलविद्युत आयोजना

श्रोत:ईन्टरनेट

४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना बैशाख २९ गतेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

 म्याग्दी । म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना बैशाख २९ गतेबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । कोरोना (कोभिड–१९) लागेका सबै कर्मचारी तथा कामदार संक्रमणमुक्त भइसकेकाले आगामी बुधबारदेखि आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

यसअघि चैत १५ सम्ममा विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि धकेलिन पुगेको थियो । अहिले संरचनामा पानी भरेर आन्तरिक परीक्षण गर्ने कार्य भइरहेको आयोजना प्रमुख दीपककुमार शाहले बताए ।

frontline

‘विद्युत उत्पादनको तयारी गर्दै गर्दा धेरै जनामा कोरोना संक्रमण देखियो,’ उनले  भने, ‘अहिले सबै जना संक्रमणमुक्त भइसकेकाले विद्युत उत्पादन सुरु गर्ने प्रक्रिया अघि बढाएका छौं ।’ उनले १५ दिनसम्म परीक्षण गरेपछि आयोजनाबाट व्यापारीक उत्पादन सुरु गरिने बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन आयोजनाले नै निर्माण गरिसकेको छ । मिस्ट्री खोलाको विद्युत बुधबारदेखि दाना सबस्टेसनमा जोड्ने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्र प्रमुख सुनिल सापकोटाले बताए ।

‘सबैतिर निशेधाज्ञा लागेकाले प्राधिकरण केन्द्रीय कार्यालयबाट प्राविधिक म्याग्दी आउने अवस्था छैन,’ उनले  भने, ‘यही जिल्लामा उपलब्ध प्राविधिकहरूको सहयोगमा मिस्ट्री खोला सञ्चालन गर्नु भन्ने निर्देशन पाएका छौं ।’ उनले जिल्लामा उपलब्ध प्राधिकरणका प्राविधिकको सहयोगमा आयोजनाको विद्युत दाना सबस्टेसनमा जोड्ने बताए ।

प्रवर्द्धक माउन्टेन इनर्जी कम्पनीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ । यो नै स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् । २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरि दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ । मिस्ट्री खोला लागतका हिसाबले आकर्षक आयोजना भएकाले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाकाे निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here