फिदिम –८ को एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु

सान्केतिक तस्बिर

२० पुस, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।

मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी  आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

frontline

आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते छन् । उनीहरुको अवस्था सामान्य छ । उनीहरुको टाउको, हात र खुट्टामा आगोले पोलेको छ ।

उक्त घरमा ७ जना सुतेकोमा २ जनाको मृत्यु भएको, दुई जना घाइते भएको र तीन जना भागेर ज्यान जोगाउन सफल भएको डिएसपी खतिवडाले जानकारी दिए ।

आगो लागेर टिनको छानो भएको तीन तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगलागीको कारण खुलेको छैन । यद्यपि बिजुलीको लाइन सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

आगो लागेको जानकारी १ बजेर ५५ मिनेटमा पाउनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा ५ जनाको टोली गएको थियो ।

थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय फिदिमबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा २५ जनाको टोली दुई वटा दमकल सहित गएको थियो । राति साढे १ बजे लागेको आगो आज बिहान सवा ४ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

घटनास्थल अस्थायी प्रहरी चौकी तमाखे  रानीटारबाट अन्दाजी ९ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अन्दाजी २५ किलोमिटर पूर्वमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here