सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता
२४ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आईटीयू पीपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।
उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गर्नुभएको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्