जर्मनीमा एक तिहाइ विद्यार्थी गरीबीको रेखामुनि
३ कात्तिक, एजेन्सी । युरोपको समृद्ध मुलुक जर्मनीमा एक तिहाइ विद्यार्थी गरीबीको रेखामुनि बस्न बाध्य छन् । स्थानीय युवती मेलिसाका लागि खाना पकाउनु पनि विलासिताको कुरा बनेको छ । यी २३ वर्षीया मनोविज्ञान विषयकी विद्यार्थी बोन विश्वविद्यालयको क्याफेमा घुम्न मन पराउँछिन् ।
‘यहाँ २ देखि ३ युरोमा खाना पाइन्छ,’ उनले भनिन् ।
मेलिसा कम खर्चमा बाँचिरहेको यो पहिलो अवसर हैन । यसअघि विद्यार्थी हुँदा पनि उनले पसलमा खरिददारीका लागि हप्ताको २५ युरो पाउने छुट्ट्याउने गरेकी थिइन् ।
तर अहिले सबै कुराको भाउ बढेकाले त्यति रकममा गुजारा सम्भव छैन ।
‘घरमा खाना पकाएर खाने हो भने मैले हप्ताको ३५ देखि ४० युरो खर्च गर्नुपर्ने हुन्छ,’ उनले बताइन् ।
उनले संघीय सरकारबाट विद्यार्थीका लागि दिइने महिनाको ७५० युरो छात्रवृत्ति पाउने गरेकी छन् । उनका मातापिताले छोराछोरी स्याहार्नका लागि सरकारले उपलब्ध गराउने २१९ युरो उनैलाई दिने गरेका छन् ।
तर त्यो लगभग हजार युरोमध्ये ४०० त उनले घरभाडाका लागि छुट्ट्याउनुपरेको छ ।
‘खानाका लागि मैले पैसा जोगाउने गरेको छु,’ उनले डीडब्ल्यू सञ्चारमाध्यमलाई बताइन् । ‘म आलु, घरेलु चीज र शाकाहारी श्नित्जेल मात्र खान्छु,’ उनले थपिन् ।
अनि उनले सेमेस्टर शुरू हुँदा विश्वविद्यालयलाई शुल्क तिर्दा एकैचोटि ३०० युरो गयो ।
कोबिडले थिलथिलो बनाएको अर्थतन्त्रलाई रुस–युक्रेन द्वन्द्वले थप कमजोर बनाएको छ ।
यस वर्षको गरीबी प्रतिवेदनले जर्मनीमा तीनमध्ये एक विद्यार्थी गरीबीको रेखामुनि रहेको देखाएको छ ।
अहिलेको महंगी दर र आउँदै गरेको ऊर्जा संकटले वर्तमान परिस्थितिलाई थप बिगार्ने जर्मन पेरिटी वेल्फेयर एसोसिएसनका एक सामाजिक कार्यकर्ता आन्द्रियास अस्ट बताउँछन् ।
जर्मन सरकारले विद्यार्थीहरूको आर्थिक सहायताका लागि ५.७५ प्रतिशत रकम वृद्धि गरेको छ अनि मातापिताको आयमा निर्धारित गरेको सीमा पनि हटाएको छ ।
अक्टोबर महिनादेखि सरकारले अधिकतम रकम महिनाको ९३४ युरो निर्धारित गरेको छ । तर विद्यार्थीहरू आमाबुवासँग एउटै घरमा नरहे मात्र यो रकम उपलब्ध गराइने हो ।
तर यसले समस्या समाधान नगराउने किनकि अहिलेको १० प्रतिशतले बढेको महंगी दरले त्यो रकम खाइदिन्छ ।
फ्री एसोसिएसन अफ स्टुडेन्ट्सकी राहेल श्युस्लरले सरकारले दिएको रकममा वृद्धि पर्याप्त नभएको बताइन् । ‘विद्यार्थीलाई दिइएको अधिकतम रकम अहिले पनि गरीबीको रेखामुनि हो,’ उनले भनिन् ।
जर्मनीमा महिनाको १२ सय ५१ युरोभन्दा कम रकम हुने व्यक्तिलाई गरीबीको जोखिममा रहेको व्यक्ति मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्