कुवेतमा स्थापित नेपाली उद्यमी

एसएलसी पास गरेपछि जेनतेन प्लस टु सकियो । पढाइको यात्रा अगाडि बढाउन सकिएन । अब भविष्यको बाटो के त ? यस्तै प्रश्न र अन्योल बोकेर गुल्मी छत्रकोटका राजु कार्की २०६२ साल (सन् २००६) मा काठमाडौं आए । त्यसबेला उनी २१ वर्षका थिए ।

‘जे पनि गर्न सक्छु’ भन्ने आँट थियो । तर अगाडि बढ्ने धेरै बाटा खुला थिएनन् । उनी काठमाडौंमा जागिर खोज्न थाले ।

frontline

राजु सम्झन्छन्, ‘जे काम पाए पनि गर्छु भन्ने थियो । म गुल्मीको मान्छे । काठमाडौं आउँदा र जाँदाकै समस्याहरू थिए । जागिर पाइयोस् र त्यो सुरक्षित होस् भन्ने नै थियो ।’

तर, जागिर भेटाएनन् । त्यसबेला नेपालबाट युवाहरू विदेशिने लहर थियो । (अहिले पनि उस्तै लहर छ ।) जागिर खोज्दै गर्दा पत्रिकामा एउटा विज्ञापन देखे, कुवेतको बर्गर किङमा कामदार चाहियो । बानेश्वरस्थित म्यानपावर पुगे । विदेश जान लाग्ने पैसा सोधे, जवाफ पाए ९० हजार । साथीभाइ र इष्टमित्रसँग ऋण खोजखाज गरे । र, कुवेत उडे ।

कुवेतमा भनेकै कम्पनीमा काम पाए । तलब थियो, मासिक ७५ केडी (तत्कालीन समयमा नेपाली २२ हजार रूपैयाँ) । यति तलबमा राजु बर्गर किङमा स्यान्डविच बनाउँथे । काउन्टरमा सघाउँथे । सरसफाइ गर्थे । परिआएका सबै काम गरे, कुनै पनि काम आइलाग्दा नाइँ भनेनन् ।

इमानदारी र मिहिनेतको फल मिठो हुन्छ । कम्पनी सञ्चालकले जिम्मेवारीसँगै तलब बढाउँदै लगे । ६ वर्षमा राजु त्यही रेस्टुरेन्टको म्यानेजर बने । तलब बढेर ३७५ केडी (तत्कालीन समयमा नेपाली एक लाख रूपैयाँ बढी) पुग्यो ।
अरू कोही भएको भए सायद नेपाली एक लाख रूपैयाँ बढीको त्यो सुरक्षित जागिरमै रमाउँथे । तर राजुको दिमागमा अर्कै योजना फुरिरहेको थियो । उनी आफैं रेस्टुरेन्ट मालिक बन्न चाहन्थे । यस निम्ति कमाएको रकम अलिअलि वचत पनि गर्थे ।

त्यही कम्पनीमा राजुले २०६९ साल (सन् २०१२) सम्म काम गरे ।

मःम खाँदै गर्दा आयो आइडिया

६ वर्ष काम गर्दा राजुलाई कुवेतमै रेस्टुरेन्ट मालिक बन्छु भन्ने लागिसकेको थियो । तर कसरी ? रेस्टुरेन्टमा नयाँ के स्वाद राख्ने ? अनेकन आइडिया मनमा आइरहेका थिए ।

एक दिन साथीहरूसँग कोठामा गफिँदै थिए । मःम बनाएर खाने कुरा चल्यो ।

‘कुवेतमा मःम खाने भन्ने नै हुँदैनथ्यो,’ राजु आफ्नो जीवनको कथा सुनाउँछन्, ‘एक दिन साथीभाइ मिलेर कोठामै मःम बनाइयो । साथीले नेपालबाट जाँदा अलिअलि टिमुर लगेको रहेछ । नेपाली चट्नीमा टिमुर मिसाइयो । साह्रै मिठो लाग्यो ।’
मःमको त्यही मिठो स्वाद लिँदै गर्दा आइडिया फुर्‍यो, अब यस्तै मःम बनाएर बेच्दा कसो नचल्ला ।

आइडिया फुर्‍यो । तर पैसा थिएन । राजुसहित चार जना मिले । चार जना मिल्दा पनि पैसा पुगेन । उनीहरूले आफूसँग भएको र ऋणसमेत लिएर २८ हजार केडी जम्मा गरे ।

‘मैले जम्मा गर्नुपर्ने जति रकम हो, त्यसको आधा पनि मसँग थिएन । ऋण लिएँ,’ राजु भन्छन्, ‘विदेशको ठाउँ । कुवेत सरकारको कडा नियम मान्नुपर्छ । बजार के कसो हुन्छ भन्ने कुनै पूर्वअध्ययन वा जानकारी छैन । यस्तोमा ऋण लिएर रेस्टुरेन्ट खोल्ने कुरा ठूलै रिक्स हो । तर जोखिम उठायौं ।’

कुवेतमा विदेशीले रेस्टुरेन्ट खोल्दा ५१ प्रतिशत लगानी स्थानीयको जुटाउनुपर्छ । राजुको टिमले पैसा आफैं संकलन गरे र त्यसमा ५१ प्रतिशत स्थानीयको हिस्साको रूपमा राखे ।

राजु भन्छन्, ‘विदेशीले रेस्टुरेन्ट खोल्दा यस्तै हुन्छ । स्थानीयले लगानी गर्दैनन्, लगानी गर्ने विदेशीले नै रकम जोहो गर्ने हो । त्यसमा स्थानीयलाई ५१ प्रतिशतको रूपमा सहभागी गराउनुपर्छ ।’

यी कडा नीति–नियम पार गर्दै कुवेतमा खुल्यो, चौतारी रेस्टुरेन्ट । त्यो कुवेतमा नेपालीहरूले खोलेको पहिलो रेस्टुरेन्ट थियो । सुरुका टिपिकल नेपाली खाना र मःम मात्र राखे । व्यापारले गति लिएन । खर्च धान्नै गाह्रो भएपछि एक जना साथीले साथ छाडे ।

तर, राजु पछि हटेनन् । अर्को जोखिम उठाए, भाडा डबल तिरेर रेस्टुरेन्टको स्पेस बढाए । मेनुमा इन्डियन, चाइनिज र सीफुड (मल्टिकुजिन) थपे । रेस्टुरेन्टमा आउने इन्डियन, चाइनिज र सीफुडका पारखीलाई नेपाली पनि स्वाद चखाए ।

त्यही ‘मास्टर स्ट्रोक’ ले चौतारी रेस्टुरेन्ट चल्न थाल्यो । फिलिपिनी, इन्डियन र स्थानीय अरेबियनहरूले नेपाली मःम मन पराए ।

अहिले कुवेतमा चौतारी रेस्टुरेन्ट फेमस छ । कुवेतका प्रमुख शहरहरूमा यसकै १२ वटा आउटलेट सञ्चालनमा छन् । नयाँ शाखा खोल्ने क्रम जारी छ । राजुको यो व्यवसायले २०० भन्दा बढीले रोजगारी दिएको छ । कामदारहरूमा अधिकतम नेपाली छन् ।

राजु २० वर्ष अगाडि ७५ केडीमा अर्कैको रेस्टुरेन्टमा काम गर्न कुवेत पुगेका थिए । अहिले उनी कुवेतको फुड उद्योगमा स्थापित नाम हो । दुबई लगायतका शहरमा रेस्टुरेन्ट विस्तारको योजना बनाइरहेका छन् ।

उनी भन्छन्, ‘हेरौं नेपाली स्वादलाई कहाँसम्म पुर्‍याउन सकिन्छ । विस्तार गरिरहेका छौं, अझै गर्छौं ।’

अहिले पनि धेरै नेपालीका लागि कुवेत रोजगारीको गन्तव्य हो । तर राजुले कुवेतलाई रोजगारीमा सीमित राखेनन् । विदेशको कठिन वातावरण, भिन्न भाषा, कडा कानुनी व्यवस्था र प्रतिस्पर्धी बजारबीच शून्यबाट व्यवसाय सुरु गरेर आफूलाई सफल व्यवसायीका रूपमा स्थापित गरे । यो आमयुवाका लागि प्रेरणा हो ।

काम गर्दै राजुले स्थानीयको बजार, ग्राहक र व्यवसाय सञ्चालनका तौरतरिका बुझ्दै गए । अनि, आफ्नै व्यवसाय सुरु गर्ने जोखिम लिए । त्यही जोखिम र निरन्तर मिहिनेतले उनलाई कुवेतमा फुड उद्योगमा स्थापित गरेको हो ।

अर्थात्, राजुको कथा एउटा व्यक्तिको आर्थिक सफलताको कथा मात्र होइन, खाडी मुलुकमा नेपालीहरू श्रमिक मात्र होइनन्, अवसर पहिचान गरेर पूँजी, सिप, श्रम र व्यवस्थापन परिचालन गर्नसक्ने उद्यमी तथा लगानीकर्ता पनि हुन् भन्ने उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here