बाँकेमा डेंगुबाट अहिलेसम्म ६ जनाको मृत्यु

९ असोज, नेपालगन्ज । बाँकेका दुई ठूला अस्पतालमा उपचार गर्न आएकामध्ये डेंगुबाट अहिलेसम्म ६ जनाको ज्यान गएको छ। 

भेरी अस्पताल नेपालगन्जमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई जनाको डेंगुबाट ज्यान गएको हो। 

frontline

भेरी अस्पतालका मेडिकल रेकर्डर अरुणदेव खनालका अनुसार मृत्यु हुनेमा कैलालीका दुई तथा बाँके र बर्दियाका एकेक जना रहेका छन्। 

कैलालीको टीकापुर नगरपालिका-६ कि १२ वर्षीया बालिका र लम्कीचुहा नगरपालिका-१ का ५३ वर्षीय पुरुषको भेरी अस्पतालमा डेंगुबाट निधन भएको छ। 

त्यसैगरी बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का ३२ वर्षका पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका-८ का ८६ वर्षीय पुरुषको पनि निधन भएको खनालले जानकारी दिए। 

साउन महिनायता भेरी अस्पतालमा विभिन्न जिल्लाबाट डेंगुको उपचार गर्न आउनेको संख्या ४२ पुगेको छ। भेरी अस्पतालमा उपचार गर्न आएका डेंगु रोगीलाई शय्याभित्र नै झुलभित्र राख्ने गरिएको छ। 

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका मेडिकल रेकर्डर दुर्गा बस्यालका अनुसार जुम्ला र सल्यानका एकेक जनाको डेंगुबाट मृत्यु भइसकेको छ। 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार बाँकेमा अहिलेसम्म ४४ जना व्यक्तिमा डेंगु रोग पुष्टि भइसकेको छ। सबैभन्दा धेरैं डेंगु रोगी कोहलपुर नगरपालिकामा १६ जना छन्। 

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा १२ जना र बैजनाथ गाउँपालिकामा पाँच जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगन्जमा डेंगुका लार्भा नियन्त्रण गर्ने र डेंगु परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ। 

‘डेंगु संक्रमण हुने र विस्तार हुने यो सिजन नै हो। लामखुट्टे मार्ने अभियान सञ्चालन नहुनु, स्थानीयले लामखुट्टेबाट जोगिने उपाय नअपनाउनु र लापरबाही गर्नुले डेंगुको संक्रमण बढेको हो’, गौतमले भनिन्, ‘सुरुमा देश बाहिरबाट आएका व्यक्तिमा डेंगु देखिए पनि अहिले संक्रमण विस्तार भइरहेको छ। डेंगु नियन्त्रणका लागि समुदायस्तरमै सचेतनाको खाँचो छ।’
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here