कालीगण्डकी गाउँपालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क

१ भदौ, काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैंले भुक्तानी गर्ने निर्णय गरेको हो । 

frontline

गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६/७७ देखि ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

‘गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’ अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैंले व्यहोर्दै आएको हो । 

गाउँपालिकाले प्राधिकरणलाई हालसम्म ४ हजार ६१६ घरधुरीलाई २० युनिटसम्मको खर्च व्यहोर्दै आएको छ । ‘आर्थिक अभावका कारण कोही पनि नागरिकले अँध्यारोमा बस्न नपरोस् भनेर अभियान चलाएका हौं,’ अध्यक्ष थापाले भने, ‘अभियानबाट अति विपन्न समुदायका नागरिक बढी लाभान्वित भएका छन् ।’

न्यूनतम २० युनिटसम्मको महसुल गाउँपालिकाले व्यहोर्ने भएपछि १ हजार २०० देखि १ हजार ५०० परिवारले थप रकम भुक्तानी गर्नुपर्ने नदेखिएको अध्यक्ष थापाले बताए । २० युनिटभन्दा माथि खपत भएको बिजुलीको महसुल उपभोक्ता स्वयंले भुक्तानी गर्नुपर्नेछ ।

गाउँपालिकाले पुराना काठका पोल हटाएर नयाँ मापदण्डका राखेको छ । गाउँपालिकाले इन्डक्शन चुल्हो वितरणमा जोड दिएको छ । ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत मुख्य सडक किनारमा ६० सोलार बत्ती जडान गरेको छ भने ११० वटा विना सोलारका बत्ती जडान गरेको अध्यक्ष थापाले बताए ।

कालीगण्डकीले ७ वटै वडाका प्रत्येक घरधुरीमा बिजुली पुर्‍याएको छ । १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना यही पालिकाको वडा नम्बर ५, ६ र ७ मा पर्दछ ।

वडा नम्बर ७ को मिर्मी बजारभन्दा केही तल बाँध बाँधेर जलाशय निर्माण गरी सुरुङमार्ग हुँदै वडा नम्बर ५ को बेलटारीमा विद्युत् उत्पादन गृहमा पानी खसालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here