नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने
२५ साउन, काठमाडौं । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् ।
बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो ।
उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् ।
नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्दा हिजो सबै सरकारी कार्यालयमा सेवाग्राहीको काम हुन सकेको थिएन ।
सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् ।
बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्