माइत हिँडेकी वृद्धा मोरङ जहदाको पोखरीमा मृत फेला

४ असार, विराटनगर । माइत जान भनेर घरबाट हिँडेकी एक वृद्धा मोरङको जहदामा रहेको पोखरीमा मृत फेला परेकी छन् ।
जहदा गाउँपालिका–४ मुखिया टोलकी ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शनिबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।




उनका अनुसार वृद्धा शुक्रबार साँझ ७ बजेतिर जहदा–४ सोहलस्थित माइती जानलाई भनेर घरबाट हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
माइतीमा आफन्तको जन्मदिन मनाउन भनेर हिँडेकी उनको शव शनिबार बिहान ७:३० बजेतिर जहदा–४ स्थित बटेश्वर मुखियाको जग्गामा रहेको पोखरीमा भेटिएको डीएसपी श्रेष्ठले बताए । उक्त पोखरी निक्कै गहिरो रहेको स्थानीयले बताएका छन् ।
बाटोको साइडमा रहेको पोखरीको पानीभित्र घोप्टो परेको अवस्थामा वृद्धा महिलाको शव भेटिएको डीएसपी श्रेष्ठले बताए । माइती पक्ष सम्पर्कमा नआएका कारण उनी माइती घर पुगिन् कि पुगिनन् भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको छ ।
‘घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ । पोखरीभित्र मृत फेला परेपनि वृद्धा महिलाको मृत्युको कारण अहिलेसम्म खुलिसकेको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । अनुसन्धानपछि र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्