प्रधानमन्त्री प्रतिनिधि सभाको बैठक चलिरहेको बेला एनआरएनको कार्यक्रममा
२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको बैठक चलिरहेको बेला गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यक्रममा सहभागी भएका छन्।
संसद छलेर प्रधानमन्त्री देउवा अन्तै कार्यक्रममा सहभागी भएपछि सांसदहरुले उनको अनुपस्थितीमाथि प्रश्न उठाएका हुन्।
संसदमा प्रधानमन्त्री नदेखेपछि सांसदहरुले अनुपस्थितको कारण सोधेका थिए।
संसदमा बुधबार विनियोजन विधेयक, २०७२ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्री एवं प्रधानमन्त्रीसे जबाफ दिने कार्यसूचि थियो ।
तर, प्रधानमन्त्री संसदमा सहभागी भएनन् । उनको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जबाफ दिए ।
नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले संसदमा प्रधानमन्त्री अनुपस्थितबारे सभामुखको जवाफ माग गरे।
सांसद प्रेम सुवालले प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ’ कि कुनै अस्पतालमा भर्ना हुनु भएको हो ? भन्दै प्रश्न गरे । उनले भने, ‘सभामुख महोदय’ यो गरिमामय संसदमा प्रधानमन्त्रीज्यू किन उपस्थित हुन सक्नु भएन ।
बिना जानकारी प्रधानमन्त्री अनुपस्थित हुन पाइदैन, प्रधानमन्त्रीनै जवाफदेही बन्नुपर्छ, विदेशमा गएको भए कार्यवहाक यहाँ आउनुपर्छ, अस्पतालमा भए त्यो जानकारी चाहियो ।’
यस्तै एमाले सांसद भीम रावलले प्रधानमन्त्री नआउनुको कारण खोजे।
रावलले प्रधानमन्त्री बिरामी हुनुभएको हो भने कुन अस्पतालमा जानुभएको हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘प्रधानमन्त्री र्याडीसन होटेलमा जानुभएको रहेछ । यसमा घोर आपत्ति छ ? ’
यसअघि प्रधानमन्त्री देउवा संसद चलिरहेका बेला बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’को उद्घाटनपछि स्टल अवलोकनमा पनि पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्