एनआरएनए बैठक बोलाएर हाल देखिएको समस्याको समाधान खोज्न आग्रह
२४ माघ, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनरआएनए)को अध्यक्ष पदका उम्मेदवार डा बद्री केसीले तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाएर हाल देखिएको समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
‘संघलाई वैधानिक रूपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गर्दछु’, आइतबार साँझ पत्रकार सम्मेलन गरेर उनले भने, ‘यसका साथै, महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत आग्रह गर्दछु ।’
चुनाव गराउन अथक प्रयत्न र हदैसम्मको लचकता अपनाउँदा पनि निर्वाचन अझै अन्योलपूर्ण हुनु दुःखद भएको उनको भनाइ छ। गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको दावी गर्दै उनले भनेका छन्, ‘यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थितलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु वास्तवमा न्यायोचित छैन ।’
संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएको भन्दै उनले आफूहरुको प्रयासहरू विधि,विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको बताए ।
विवाद समाधानका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको जनवरी पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यस बाहेक पनि आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय,र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरू पुष्टि गरिसकेको छ ।
तर, यी सबै आधारहरूलाई बेवास्ता गरी, पटक पटक निर्वाचनलाई अन्यौलपूर्ण बनाएर विधि,पद्धति, वैधानिक व्यवस्था विपरीत मार्गमा जानु कत्तिको उचित होला ? र भोलिका दिनमा कस्तो नजिर स्थापित गर्ला हामी सबैले आ–आफ्नो स्थानबाट आत्मसमीक्षासहित सोच–विचार गर्नै पर्ने देखिएको छ ।’
निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झुटा र आधारहीन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको उनले आरोप लगाएका छन् ।
संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिन खोजिएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्