नेपाल–भारत सिमानाको दसगजा क्षेत्रभित्र भारतीय एसएसबीको सुरक्षा पोस्ट्

८ माघ, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरनजिक नेपाल–भारत सिमानाको दसगजा क्षेत्रभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफ्नो सुरक्षा पोस्ट् निर्माण गरेको छ। 

विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीको बीचमा पर्ने दसगजा क्षेत्रभित्र एसएसबीले जबरजस्ती आफ्नो संरचना बनाएको हो। नेपाली पक्षलाई सुइँकोसम्म नदिइकन एकलौटी ढंगले लगभग १ महीनाअघि उक्त पोस्ट एसएसबीले तयार गरेको स्थानीयले बताए। 

frontline

दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र एक मुलुकले अर्को मुलुकलाई असर पुग्ने खालका गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन एवं नियमको धज्जी उडाउँदै भारतीय पक्षले हतियारसहितका एसएसबी राख्ने गरी सुरक्षा पोस्ट् खडा गरेको हो। 

नियम अनुसार नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस–दस गज खाली छाड्नुपर्ने हुन्छ। तर एसएसबीले भने दसगजाभित्रै आफ्नो पोस्ट् बनाएर चुनौती दिँदै सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरिरहेको हो। 
दसगजा क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउँदै उक्त क्षेत्र खाली गर्ने सहमति दुई देशबीच यसअघि नै भइसकेको छ। 

त्यही सहमति अनुरुप सरकारले नापी विभागका अधिकारीलाई खटाएर सीमा स्तम्भको मर्मतसम्भार गर्ने, हराएकाको खोजी र बिग्रिएका ठाउँमा नयाँ निर्माण गर्ने तथा दसगजाको अतिक्रमित क्षेत्रको लगत संकलन गर्ने काम २०७३ सालदेखि नै थालेको थियो। कोरोना महामारीका कारण उक्त काम भने लामो समयदेखि रोकिएको छ। भारतले पनि सीमा क्षेत्रमा नापीको टोली खटाएको थियो। 

अतिक्रमण हटाउने र सिमानालाई व्यवस्थित बनाउने दुई देशीय सहमतिविपरीत एसएसबीले भने सुरक्षा पोस्ट् निर्माण गरेको छ। काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको पोस्ट्मा २४ घण्टा नै हतियारसहितका एसएसबीका जवानहरु बस्न थालेका छन्। दसगजामै हतियारसहित चेकजाँच गरिरहेका हुन्छन्। सुरक्षा दिने नाममा उनीहरुले नेपालतिर हुने गतिविधिसमेत नियाल्ने गरेको र नेपाली नागरिकलाई अनेक दुःख दिन थालेको गुनासो सीमा क्षेत्रका बासिन्दाको छ। 

स्थानीयले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै कूटनैतिक मर्यादाविपरीत जबरजस्ती पोस्ट् बनाएर एसएसबीले आफ्ना कामकारबाही गरिरहेको बताएका छन्। स्थानीय अगुवा मनोज खड्काले मिचाहा प्रवृत्ति देखाउँदै दसगजाभित्र संरचना तयार गरेर एसएसबीले अड्डा जमाए पनि नेपाल सरकार मौन बस्नु गम्भीर विषय भएको बताए। उनका अनुसार दसगजा क्षेत्रलाई केन्द्रित गरेर भारतीय पक्षले संरचना निर्माण गर्नेदेखि लिएर विभिन्न गतिविधी गरिरहँदा पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन।  

सीमा सुरक्षामा खटिने भारतको सरकारी निकायले नै पोस्ट् बनाएर दसगजा अतिक्रमणका लागि सर्वसाधारणलाई उक्साइरहेको खड्काको बुझाइ छ। ‘दसगजामा संरचना बनाउन हुँदैन भनेर हामी विरोध गरिरहेका छौँ। भारतीय पक्ष सुन्दैसुन्दैन,’ उनले भने, ‘सीमाका बारेमा बेखबर बनिरहेको नेपाल सरकारले पनि चासै दिँदैन। दसगजामा भारतीयको हालिमुहाली चलिरहँदा सरकार मस्त निद्रामा छ।’ 

स्थानीयका अनुसार सीमा क्षेत्रका बासिन्दा एसएसबीबाट धेरै पीडित छन्। विभिन्न बहानमा धम्क्याउने, तर्साउने र हतियार नै बोकेर सुटुक्क नेपाल प्रवेश गर्ने गरेको स्थानीय बताउँछन्। सामान खरिदका लागि जोगवनी पुग्ने नेपाली नागरिकलाई समेत दुःख दिने काम एसएसबीबाट हुने गरेको छ।   

तीव्र रूपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा आफूहरु केन्द्रित भएको मौका छोपेर स्थायी पोस्ट् बनाउँदै सीमा क्षेत्रमा एसएसबीले आफ्ना गतिविधी सञ्चालन गरिरहेको विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बाले बताए। ‘खुला सीमाको फाइदा उठाउँदै एसएसबीले दसगजामा आफूखुसी पोस्ट् बनाएको हो,’ उनले भने, ‘भारतीय पक्षले सँधै मिचाहा एवं हेपाहा प्रवृत्ति देखाउने गरेको छ।’ भारतीयका कारण सीमा क्षेत्रका बासिन्दा धेरै प्रताडित हुनु परिरहेको सुब्बा बताउँछन्।  

जेगर्दा पनि नेपाली पक्ष चुप लागेर बसिदिँदा भारतीय पक्षले सधैँ दसगजामा रजगज गर्ने गरेको वडाध्यक्ष सुब्बाको भनाइ छ। ‘सुरक्षा पोस्ट् नै बनाएर दसगजाबाट भारतले नेपालको गतिविधी नियाल्ने काम गर्नु गम्भीर विषय हो,’ उनले भने, ‘स्थानीय स्तरको पहललाई वास्ता नगरिएका कारण यो समस्याको समाधान कूटनैतिक हिसाबबाटै खोजिनु पर्छ।’ सीमा क्षेत्रमा भारतको जबरजस्ती बढिरहेको सुब्बा बताउँछन्। 

उनी भन्छन्, ‘तत्काल एसएसबीको पोस्ट् हटाउन सरकारले पहल गरेर दसगजा क्षेत्र खाली गर्नुपर्छ।’ सीमा क्षेत्रमा पोस्ट् बनाएर भारतीय पक्षले नेपाली भूमि मिच्ने प्रपञ्च गरेको हुनसक्ने सुब्बा बताउँछन्। 

उनका अनुसार भारतले भने आफ्नो भूमिमा अग्लो ड्याम उठाएर सडक बनाएको छ। सडकका कारण पानीको निकास थुनिँदा बर्खाको समयमा नेपालीका घरहरु डुबानमा पर्ने  गरेको वडाध्यक्ष सुब्बाले बताए। ‘भारतले अग्लो ड्याम उठाएर सडक बनाइदिएका कारण बर्सेनि नेपाली बस्तीले डुबानको सामना गर्नु परिरहेको छ,’ उनले भने। 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दसगजामा दुवै देशका तर्फबाट कुनै पनि संरचना बनाउन नपाइने बताए। ‘दसगजाभित्रै एसएसबीले पोस्ट् बनाएको सूचना आएकाले थप बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि हो रहेछ भने तत्काल हटाउनका लागि आग्रह गर्छौँ।’ 

दाहालले सुरुमा यो समस्याको जानकारी भारतको अररिया जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेटलाई गराइने बताए। ‘पोस्ट् हटाउने बारेमा सुरुमा सशस्त्र प्रहरीले एसएसबीसँग समन्वय गर्छ,’ उनले भने, ‘कुरा मिलेन भने भारतीय समकक्षीसँग कुरा राख्ने राख्छौँ।’ त्यहाँबाट पनि समाधान ननिस्किए नेपाल सरकार गृह मन्त्रालयमार्फत एसएसबीको पोस्ट् हटाउने विषयमा पहल हुने प्रजिअ दाहालको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here