छठपूजाका क्रममा घाइते १७ बर्षीय पटेलको मृत्यु

२२ पुस, वीरगञ्ज । गत कात्तिक २४ गते छठपूजाका क्रममा भएको झडपमा घाइते भएका बारा कलैया नगरपालिका–१९ इनरवारीका १७ बर्षीय राधेश्याम पटेलको मृत्यु भएको छ । पटेलको उपचारको क्रममा बुधबार साँझ वीरगञ्जको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २४ गते छठपुजाका दिन गाउँमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा टाउकोमा चोट लागेपछि पटेल गम्भीर घाइते पटेलको वीरगञ्ज पानीट्यांकीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

frontline

चिकित्सकले बुधबार साँझ उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

न्युरो अस्पतालबाट उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ । पोष्टमार्टमपछि उनको शव आफन्तको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

छठपूजामा पटाका पड्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३० वर्षीय नाजिर हुसैन मियालाई त्यतिबेलै पक्राउ गरेको थियो ।

ज्यान मार्ने उद्योगमा मुद्दामा उनलाई पुर्पक्षका लागि कारागारमा रहेको प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

राधेश्यामको मृत्युपछि स्थानीयले वीरगञ्ज–कलैया सडकखण्ड अवरुद्ध पारेका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सिसहनीया चोकमा भेला भएका स्थानीयले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका हुन् ।

टायर बालेर विरोध प्रदर्शन गर्नुको साथै उनीहरुले नाराबाजी गरिरहेका छन् । घटनामा संलग्न दोषीलाई आजीवन कारावास, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार स्थानीयले सडक अवरुद्ध गरेपछि वैकल्पिक मार्गबाट सवारी आवागमन गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here