अत्याधिक हिमपातका कारण खुम्बुमा खोप अभियान प्रभावित
१५ पुस, सोलुखुम्बु । अत्याधिक हिमपातका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोप अभियान प्रभावित भएको छ ।
जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई पुस ११ गतेबाट मोर्डना खोप दिन सुरु गरेको भएपनि खुम्बुमा भने हिमपातका कारण प्रभावित भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम नारायण शाहले जानकारी दिए ।
उनका अनुसार खुम्बुमा ११ र १२ गते दुई दिनसम्म जारी भएपनि १३ गतेबाट रोकिएको हो । जिल्लाका अन्य ७ वटा पालिकामा भने खोप अभियान जारी रहेको कार्यालयले जनाएको छ ।
नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका देशभरका सबै बालबालिकाहरुलाई प्रदान गर्ने लक्ष्य लिएको मोर्डना खोप सोलुखुम्बुका लागि पहिलो चरणममा १० हजार डोज खोप प्राप्त भएको छ ।
शिक्षा समन्वय इकाई सोलुखुम्बुको तथ्यांक अनुसार जिल्लामा १२ देखि १७ वर्ष उमेरका १३ हजार भन्दा बढी बालबालिका रहेका छन् ।
तर स्वास्थ्य कार्यालयले पालिकाहरुसँग लिएको अभिलेखलाई आधार मान्ने हो भने उक्त संख्या १८ हजार भन्दा बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पालिकाहरुले अनुमानको भरमा अभिलेख टिपाउँदा संख्या बढेको हुन सक्ने कार्यालयको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्