काठमाडौं महानगरपालिका : पूर्वाधारमा ६७ करोड खर्चिंदा प्रशासनिकतर्फ ६१ करोड खर्च

७ पुस, काठमाडौं । चालु आर्थिक वर्षमा संघीय सरकारको पुँजीगत खर्च यसै कमजोर छ । स्थानीय तहमा पनि त्यही समस्या देखिन्छ ।

नेपालको सबैभन्दा धेरै बजेट परिचालन गर्ने स्थानीय तह काठमाडौं महानगरपालिकाको पुँजीगत खर्चको अवस्था निकै कमजोर छ ।

frontline

पूर्वाधारमा करिब ६७ करोड खर्चिंदा प्रशासनिकतर्फ ६१ करोड खर्च गरेको महानगरपालिकाले सार्वजनिक गरेको विवरणमा देखिन्छ ।

काठमाडौं महानगरपालिले साउनदेखि कात्तिकसम्म ५.९७ प्रतिशत पुँजीगत खर्च गरेको छ । करिब १३ अर्ब ८८ करोडको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको महानगरपालिकाले पहिलो चार महिनामा ८२ करोड ७५ लाख खर्च भएको देखिन्छ ।

महानगरपालिकाको १६ अर्ब ८ करोडको बजेटमध्ये कात्तिकसम्म १ अर्ब ९९ करोड खर्च भइसकेको महानगरपालिकाले सार्वजनिक गरेको पहिलो चौमासिकको विवरणमा देखिन्छ । यो समग्र विनियोजनको १२.३९ प्रतिशत खर्च हो ।

महानगरपालिकको खातामा कात्तिकसम्म ३ अर्ब ७० करोड मौज्दातका रुपमा देखिन्छ । महानगरपालिकाले ८ करोड ५८ लाखको गाडी किन्नका लागि पेश्की दिएको छ ।

यो वर्ष महानगरले ३२ अर्ब ७६ करोड रुपैयाँ गाडी किन्न छुट्याएको छ । महानगरपालिकाले ४ महिनामा सडक तथा पुल निर्माणका लागि २१ करोड ४८ लाख बजेट खर्च भएको छ ।

महानगरपालिकाको समग्र आर्थिक विकासका लागि चार महिनामा ६६ करोड ६८ लाख रुपैयाँ खर्चेको छ । जबकी यो वर्ष भौतिक विकासतर्फ महानगरपालिकाले ८ अर्ब २६ करोड ८८ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

आर्थिक विकासको क्षेत्रमा १२ करोड खर्च भएको छ । सामाजिक विकासतर्फ ४८ करोड ६७ लाख रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ११ करोड २६ लाख खर्च भएको महानगरपालिकाले जनाएको छ ।

यो वर्ष २ अर्ब २७ करोड २१ लाख बजेट रहेको कार्यालय सञ्चालन र प्रशासनिक खर्चको शीर्षकमा ६० करोड ७१ लाख खर्च भएको विवरणमा देखिन्छ ।

महानगरपालिकाले अबको ८ महिनाभित्र १४ अर्ब ९ करोड खर्चिनुपर्ने भएपनि पुँजीगत खर्चको कमजोर अवस्थाका कारण लक्ष्य हासिल गर्न कठिन हुने महानगरका अधिकारीहरु बताउँछन् ।

हेर्नुहोस् काठमाडौं महानगरपालिकाको खर्च विवरण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here