निष्काशन गरेका सांसद आए संसद चल्न दिँदैनौं : अध्यक्ष ओली
१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्काशन गरेका सांसद संसदमा गए प्रतिनिधि सभा चल्न नदिने दोहोर्याएका छन्।
शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै उनले एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न नदिने बताएका हुन्।
‘हामीले निष्काशन गरेका व्यक्तिहरु संसदभित्र राखेर संसद् कसरी चल्न सक्छ’ओलीले भने,‘नियमले गैह्र सांसद्लाई सभामा बस्न दिँदैन, मिल्दैन ।’
उनले एमालेले साउन २५ गते निकालिएका व्यक्ति २८ गते संसदमा आउँछन् भने त्यो स्वीकार्य नहुने स्पष्ट पारे।
ओलीले २८ गते किन संसद् बोलाइएको हो सरकार प्रस्तुत भएपछि जानकारी हुने बताए। ओलीले सभामुख अग्नी सापकोटा एमालेविरुद्ध सत्तापक्षीय गठबन्धनसँग लागेर अनुचित गठबन्धन गरेर एमाले फुटाउन लागेको पुन : दोहोर्याए।
उनले अवैध ढंगले एमाले फुटाउन सभामुख लागेको बताए।
सरकारले बुधबार ६ वटा अध्यादेश जारी गरेपछि बिहीबार संसद् अधिवेशन बोलाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते दिउँसो २ बजे बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
बुधबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न ६ अध्यादेश जारी गरेकी थिइन्। विपक्षी एमालेको अवरोध नहटाई सरकारले कात्तिक १२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो।
ओलीले सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाए। गठबन्धनको सरकारबाट देश नचलेकाले छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने धारणा राखे। पाँच दलीय गठबन्धनले गर्दा अदालतमा समस्या सिर्जना भएको ओलीले बताए।






प्रतिक्रिया दिनुहोस्