कांग्रेस नवलपरासी अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी
१२ मंसिर, परासी । नेपाली कांग्रेस पश्चिम नवलपरासीको सम्पन्न जिल्ला अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी भएको छ।
शनिबार सम्पन्न मतगणनाअनुसार देउवा गुटका सभापति उमेद्वार मोहनप्रसाद शर्मालाई इतरगुटका उमेद्वार अर्जुनकुमार पोखरेलले १ सय ९५ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन्।
विजयी पोखरेलले ७५६ मत ल्याए भने प्रतिस्पर्धी शर्माले ५६१ मत ल्याए। निर्वाचित पोखरेल यसअघिका जिल्ला उपसभापति हुन्।
कांग्रेसको पदाधिकारीमा २-२ जना उपसभापति, सचिव र सहसचिव रहने प्रावधान छ। जसअनुसार उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड विजयी भएका छन्।
सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन्। सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन्। ३६ सदस्यीय जिल्ला कार्यसमितिको निर्वाचनमा कुल १३ सय २९ मत खसेको मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिए।
जिल्लाका नेताहरुबीचको आन्तरिक राजनीतिक झगडाका कारण सहमति नभएपछि वडा अधिवेशनबाटै निर्वाचन हुँदै आएको हो। जिल्लामा देउवा गुटमा रहेका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ।
केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन्। दुई गुटबीच जिल्लामा पानी बराबारको स्थिति छ।
एक अर्काको राजनीतिक अस्तित्व स्विकार गर्न नसक्ने जिल्लाका नेताहरुको अडानका कारण तल्लो तहबाटै निर्वाचन भएको कार्यकर्ताहरुले बताएका छन्।
महाधिवेशन प्रतिनिधिमा समेत देउवाइतर गुटले बहुमत प्रतिनिधि जितेको छ। कुल ५३ जना प्रतिनिधिमा २९ जना इतर गुट र २४ जना देउवा गुटका छन्।
प्रतिक्रिया दिनुहोस्