इथियोपिया जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकतासहित अन्यलाई क्षतिपूर्ति दिन बोइङ कम्पनी तयार
२५ कार्तिक, गोरखा । झन्डै तीन वर्षअघि पूर्वी अफ्रिकी मुलुक इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारसहित अन्य पीडितलाई क्षतिपूर्ति दिन जहाज निर्माता कम्पनी बोइङ तयार भएको छ।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङ सन् २०१९ मा इथियोपियामा दुर्घटनामा परेको आफ्नो ७३७ म्याक्स जहाजका यात्रुका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको हो।
अमेरिकाको सिकागोस्थित एक अदालतमा बोइङले १४९ यात्रु र ८ चालक दलका सदस्यको मृत्युको कारण आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
‘ती दुर्घटनामा आफन्त र प्रियजन गुमाएका सबै परिवारले पूर्ण र न्यायिक क्षतिपूर्ति उपलब्ध पाउने कुरामा बोइङ प्रतिवद्ध छ,’ बोइङले बुधबार जारी गरेको विज्ञप्ति भनिएको छ,‘बोइङसँगको सम्झौतापछि दुबै पक्षको प्रयास पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा केन्द्रीत हुने बाटो खुलेको छ।’
बोइङले यो सहमति गरेसँगै अरू मुलुकका पीडितका परिवारले पनि अमेरिकी अदालतबाटै क्षतिपूर्ति लिन पाउने बाटो खुलेको पीडित परिवारका तर्फबाट मुद्दा लडेका वकिलहरूले बताएका छन्।
बोइङले ७३७ म्याक्स जहाज असुरक्षित अवस्थामा रहेकाले दुर्घटना लागि अरू कसैलाई आरोप नलगाउने सहमति पनि गरेको छ।
२०७५ फागुन २६ गते इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबी जान लागेको जहाज दुर्घटनामा परेको थियो। उक्त जहाजका १४९ जना यात्रुमध्ये गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारी पनि एक थिइन्।
अधिकारी विश्व खाद्य कार्यक्रम इथियोपियामा कार्यरत थिइन्।
२०७५ को दशैंपछिमात्र उनी इथियोपिया गएकी थिइन्। त्यसअघि उनले तीन वर्ष विश्व खाद्य कार्यक्रम नेपालमा लजिस्टिक अफिसरको रूपमा काम गरेकी थिइन्। अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट बन्ने उनको सपना थियो।
काठमाडौंको निलगिरी स्कुलबाट एसएलसी पास गरेकी एकता आइएस्सी सकेर बेलायत पढ्न गएकी थिइन्। पढाइ सकेर उनी नेपाल फर्किइन्। २०७२ को भूकम्पपछि उनले विश्व खाद्य कार्यक्रममा लजिस्टिक अफिसरको रूपमा काम सुरू गरेकी थिइन्।
इथियोपियामा दुर्घटना हुनुअघि बोइङको ७३७ म्याक्स मोडलको जहाजले राम्रो बजार लिएको थियो। लगातार दुई जहाज दुर्घटनामा परेपछि बोइङका उक्त मोडलका जहाज संसारभरि ग्राउन्डेड भएका थिए।
२०१८ को अक्टोबरमा इन्डोनेसियामा बोइङको यही मोडलको जहाज दुर्घटनामा परेको थियो। लायन एयरलाइन्सले सञ्चालन गरेको उक्त जहाज २९ अक्टोबरमा जाकर्ताबाट उडेको केही मिनेटमै दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो।
बोइङको ७३७ सिरिजमा म्याक्स पछिल्लो मोडल हो। यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती थियो। बोइङका ७३७ सिरिजका यसअघिका जहाजहरू सबैभन्दा सुरक्षितमध्ये मानिन्छन्।
म्याक्सको ७, ८, ९ र १० मोडलका जहाजले १३८ देखि २०४ जनासम्म यात्रु बोक्न सक्छन्। दुई लहरमात्र सिट भएका यी जहाज छोटो र मध्यम दूरीका लागि उपयुक्त छन्।
इन्डोनेसियाको लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा नै समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो।
गत वर्षमात्रै अमेरिकी अधिकारीहरूले बोइङलाई फेरि उक्त मोडलका जहाज उडाउन अनुमति दिएका थिए।
बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि अमेरिकाको संघीय उड्डयन प्राधिकरणले जहाज फेरि उडाउन बाटो खोलिदिएको हो।






प्रतिक्रिया दिनुहोस्