जनगणना महत्त्वपूर्ण राष्ट्रव्यापी कार्यक्रम हो, सफल बनाऔं : राष्ट्रपति भण्डारी

फाइल तस्बिर

२५ कार्तिक, काठमाडौंराष्ट्रपति विद्यादेवी भण्डारीले जनगणना राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार भएको बताएकी छन्। राष्ट्रिय जनगणना २०७८ को सन्देश जारी गर्दै उनले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्ने बताएकी हुन्।

‘सबै नागरिकको पारिवारिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन, प्रशोधन एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो। जनगणनामार्फत् उपलब्ध हुने तथ्याङ्क मुलुकको विकास निर्माणसम्बन्धी नीति‚ योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सूचनाको स्रोत हुनुका साथै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार रहिआएको छ।’

frontline

सन्देशमा भनिएको छ,‘त्यसैले, राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेकी तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्दछ।’

ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीको लागि समेत लामो समय लाग्ने भएकाले जनगणनालाई महत्त्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमको रूपमा सफल तुल्याउनु पर्ने उनको भनाई छ।

राष्ट्रपति भण्डारीले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि लगायत सबैलाई आह्वान गरेकी छन्। सन्देशमा भनिएको छ,‘जनगणनाबाट प्राप्त तथ्यलाई नै मुलुकका बारेमा आधिकारिक जानकारीको स्रोत समेत मानिने हुनाले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवं सम्बद्ध सबैमा आव्हान गर्दछु।’

आजदेखि सुरु भई आगामी मङ्सीर ९ गतेसम्म सबै नेपालीहरूको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्ने प्रयोजनका लागि केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणकहरू खटाएको छ। 

नेपालमा वि.सं. १९६८ देखि जनगणना गरिने कार्यको थालनी भएको हो। एक शताब्दी लामो इतिहास पूरा गरिसकेको जनगणनाका पछिल्ला नतिजाहरू प्रकाशनका रूपमा पनि उपलब्ध छन्।

उनले राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रिय तथ्याङ्क विभागको सक्रियतामा सुरु हुन लागेको राष्ट्रिय जनगणनाको सफलताको शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here