पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला
१९ कात्तिक, काठमाडौं : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो ।
प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा भाले कस्तुरी जिउँदो, दुई भाले, दुई पोथी कस्तुरी मृग र एउटा फ्याउरो मृत भेटिएको जानकारी दिनुभयो ।
‘पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौं’, उहाँले भन्नुभयो, ‘तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ ।’
अखेटोपहार तस्करी गर्न वन्यजन्तुलाई पासो थापेर मारिएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिलो दिन १२ किलोग्राम तौल भएको एउटा भाले, १२ किलोग्राम २८० ग्राम तौल भएको दुई वटा पोथी कस्तुरी र पाँच किलो ३५० किलोग्राम तौल भएको भाले फ्याउरो मृतावस्थामा भेटिएको थियो ।
दोस्रो दिन १३–१३ किलोग्राम तौल भएको मृत र जिउँदो एक–एक वटा मरेको भाले कस्तुरी भेटिएको थियो । भाले कस्तुरीको नाभी जडीबुटीका रूपमा धेरै मूल्यमा बिक्री हुने गर्छ । पोथी कस्तुरी मृगको नाभी हुँदैन । नाभीका लागि भाले कस्तुरीको अवैध सिकार हुने गर्छ ।
पासोसहित मृतावस्थामा भेटिएका वन्यजन्तु व्यवस्थापनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोममा बुझाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्