‘सरयू–कमला एक्सप्रेस’ रेलको स्वागतमा जनकपुरधाम तयार
जनकपुरधाम : प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको सुरुवातसँगै जनकपुरधाममा भव्य स्वागतको तयारी गरिएको छ। मंगलबार बिहान जनकपुरधाम आइपुग्ने रेलमा अयोध्याका साधुसन्त, पर्यटन व्यवसायी र सर्वसाधारण गरी करिब १२ सय जना यात्रु आउने अपेक्षा गरिएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक परिवेश पराजुलीका अनुसार स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसन सफा गरी स्वागत मञ्च निर्माण तथा मिथिला चित्रकलाले सजाइएको छ। बिहानदेखि मध्याह्नसम्म चल्ने स्वागत कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्री, साधुसन्त र व्यवसायीको सहभागिता रहनेछ। मिथिला संस्कृति झल्किने झाँकी र प्रस्तुतिपछि यात्रुहरूलाई जानकी मन्दिरमा दर्शन गराई भोजनको व्यवस्था गरिने छ।
करिब ६ सय ४ किलोमिटर दूरी तय गर्ने साप्ताहिक रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। भारत उत्तरप्रदेशको अयोध्या–मनकापुर, बस्ती, गोरखपुर हुँदै विहारको नरकटियागन्ज, रक्सौल, सितामढी, सिसो, मधुवनी, जयनगर हुँदै जनकपुरधामलाई जोड्नेछ। हरेक शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्ने तालिका रहेको रेल सेवाले अवध र मिथिल बीचको शताब्दीयौं पुरानो सांस्कृतिक, आध्यात्मिक तथा रोटी–बेटी सम्बन्धलाई थप बलियो बनाउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन्।






प्रतिक्रिया दिनुहोस्