सिरानडाँडामा गुरु पद्म सम्भवको १० फिट अग्लो मूर्ति प्रतिस्थापन
अजिरकोट गाउँपालिका–४, सिरानडाँडामा बौद्ध धर्मावलम्बीहरूको आस्थाका केन्द्र गुरु पद्म सम्भवको १० फिट अग्लो मूर्ति प्रतिस्थापन गरिएको छ। गाउँपालिका र वडा कार्यालयको सहयोगमा हिमाली समाज गुम्बाअन्तर्गत गुरु रिन्पोछे पद्म सम्भव मूर्ति निर्माण समितिले उक्त मूर्ति निर्माण गरेको हो।
सिरानडाँडाको सल्लाघारीमा ११ फिटे खम्बामाथि १० फिट अग्लो गुरु रिन्पोछे पद्म सम्भवको मूर्ति निर्माण भएको छ। पिलरको चारैतिर नोर्बुको आकृति कुँदिएको छ। हालसालै निर्माण सम्पन्न भएको मूर्तिमा बौद्ध धर्मको विधि-पद्धतिअनुसार दुई दिनसम्म धुमधामका साथ पूजाआजा गरी प्राणप्रतिष्ठा गरिएको छ। सोमबार र मङ्गलबार विशेष पूजाआजा गरेर धर्मगुरु खेम्पो श्री लामा गुरुङले पद्म सम्भवको मूर्तिमा प्राणप्रतिष्ठा गरेको समितिका अध्यक्ष अनुप लामा लाक्पाले जानकारी दिए।
प्राणप्रतिष्ठा कार्यक्रममा खेम्पो लामा गुरुङ रिन्पोछेसहित अन्य दर्जनौँ लामा गुरुहरूको उपस्थिति थियो। सिरानडाँडाका स्थानीय अगुवाहरूको पहलमा गुरु रिन्पोछे पद्मसंभवको मूर्ति निर्माण गरी प्रतिस्थापन गरिएको अध्यक्ष अनुप लामा लाक्पाले बताए।
गत वर्षको असोजबाट निर्माण सुरु गरिएको मूर्ति हालसालै सम्पन्न भएको उनको भनाइ छ। ‘मूर्ति बनाउन करिब २२ लाख रुपैयाँ खर्च भयो । अजिरकोट गाउँपालिका र वडा नं. ४ को कार्यालयले पनि मूर्ति निर्माणमा आर्थिक सहयोग गरेका छन्,’ उनले भने, ‘मूर्ति निर्माणको काम सम्पन्न भइसकेको भए पनि घेराबारको काम भने बाँकी नै छ।’
सिरानडाँडामा धार्मिक पर्यटन विकास गर्ने उद्देश्यसहित गुरु रिन्पोछे पद्म सम्भवको मूर्ति निर्माण गरिएको समितिको भनाइ छ। सिरानडाँडा ‘बुद्ध हिमाल हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ को प्रवेशद्वारसमेत हो। ‘गुरु रिन्पोछे पद्मसंभवको मूर्ति निर्माण भएपछि यहाँबाट गुरुको आशीर्वाद लिएर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको यात्रा सुरु गर्न सकिन्छ,’ लामा गुरु लोकबहादुर लामाले भने।






प्रतिक्रिया दिनुहोस्